साँसद राईकै कारण डेढ करोड फ्रिज – मेयर राणा

असल शासन प्रतिनिधि

नेपालगञ्ज/निर्वाचन क्षेत्र नं. २ अन्तर्गत स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमको १ करोड ५० लाख रकम फ्रिज भएको बिषयले नेपालगञ्जलाई तताएको छ ।

करिव एक साता अघि बाँके क्षेत्र नं.२ बाट निर्वाचित संघीय सांसद मोहम्मद इस्तियाक राइले नेपालगन्जमा हाइमास्ट शिलन्यास कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका कारण सो रकम फ्रिज भएको आरोप लगाएपछि सो बिषय बहसको बिषय बनेको थियो ।

सो आरोपको नेपालगञ्ज उपमहानगरपालिकाले खण्डन गरेपछि पुनः पूर्ब मन्त्री राईले पत्रकार सम्मेलन गरि उपमहानगरपालिकाकै कारण रकम फ्रिज भएको आरोप पुनः दोहोर्याएका थिए ।

सोही बिषयमा नेपालगञ्ज उप–महानगरपालिकाले पुनः आज पत्रकार सम्मेलन गरि सो बारेमा आधिकारिक धारणा सार्वजनिक गरेको छ । उपमहानगरले कार्यालयमा पत्रकार भेटघाट आयोजना गरि आधिकारिक धारणा सार्वजनिक गरेको हो ।

उपमहानगरपालिकाले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको मिति २०७७ असार ७ गतेको पत्रानुसार विनियोजन भएको रकम मध्ये खर्च नभई बचत रहेको रकम असार १५ गतेभित्र कोभिड–१९ को रोकथाम, नियन्त्रण, निदान र उपचारमा खर्च गर्ने गरी निर्देशक समितिका सदस्यहरुको परामर्शमा संयोजकलाई जिम्मेवारी दिईएको उल्लेख गर्दै राजपत्रमा प्रकाशित सूचना अनुसार आव २०७६÷७७ मा छुट्टाइएको रकम खर्च नभई बचत हुन गएमा त्यस्तो बचत रकम संयोजकले निर्देशक समितिको अन्य सदस्यसँग परामर्श गरी सम्बन्धित स्थानीय तहमा रहेको कोभिड–१९ को व्यवस्थापनको लागि खोलिएको खातामा २०७७ असार १५ भित्र जम्मा गर्न सक्ने र त्यसरी प्राप्त हुने रकम स्थानीय तहले कोभिड–१९ को रोकथाम, नियन्त्रण, निदान र उपचारको काममा मात्र प्रचलित, कानून बमोजिम खर्च गर्नुपर्ने उल्लेख गरिएको जनाएको छ ।

स्वीकृत संशोधन नियमावलीमा कहिकतै पनि रकम निकासका लागि स्थानीय तहले माग गर्नुपर्ने उल्लेख नभएको भन्दै उपमहानगरपालिकाले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको निर्देशक समितिको बैठकले मिति २०७७ असार १४ गते योजनाको संशोधन गरि कोभिड–१९ को लागि आवश्यक पर्ने आईसोलेसनमा उपयोग हुने गरि भेन्टिलेटर र उपकरण भेरी अस्पताल नेपालगञ्जमा जडान गर्ने निर्णय गरेको पत्र जिल्ला समन्यय समितिबाट २०७७ असार १५ गते नेपालगन्ज उपमहानगरपालिकालाई प्राप्त भएको जनाएको छ ।

उपमहानगरपालिकाका प्रमुख डाक्टर धवल शम्शेर राणाले कोभिड–१९ कोषमा रकम जम्मा भएपनि समितिले कार्यक्रम तोक्ने अधिकार नदिएको, नियमावलीमा सम्बन्धित स्थानीय तहमा रहेको कोभिड–१९ को ब्यवस्थापनको लागि खोलिएको खातामा रकम जम्मा गर्नका लागि निर्णय नभएकोले स्थानीय तहको प्रकोप ब्यवस्थापन कोषमा सो रकम जम्मा हुन नसकेको बताए । असार १४ गते भएको भनिएको निर्णय अनुसार उपकरण खरिदमा कम्तिमा एक महिना लाग्ने भएकाले समय अभावका कारण नसकिने भएकाले कार्यक्रम सञ्चालन नभएको उल्लेख गर्दै उनले सामग्री खरिद तथा जडानका लागि कार्यक्रम किटान गरि पठाइएकोले समेत सो रकम कोभिड–१९ कोषमा जम्मा गर्नका लागि नपठाइएको स्पष्ट भएको बताए ।

निर्देशक समितिले उप–महानगरपालिकाको कोभिड– १९ राहत कोष मार्फत भेरी अस्पतालमा भेन्टीलेटर खरिद गर्ने निर्णय गरेको अवस्थामा तत्काल उपकरण खरिद गर्न सकिने अवस्था हुँदाहुँदै समन्वय नगरि निर्णय भएपछि रकम फिर्ता भएको हो –राणाले भने ।
‘माननिय राइसँग जुहारी खेल्न मलाई रहर पनि छैन् र जुहारी खेल्ने मान्छे पनि म होइन उपमहानगर प्रमुख राणाले भने– ‘नेपालगन्ज उपमहानगरपालिका र म माथिको झुठा प्रहार सह्य छैन् ।’

उपमहानगरपालिकाको कोभिड–१९ राहत कोष मार्फत् भेरी अस्पतालमा भेन्टिलेटर खरिदका लागि डेढ करोड रकम उपलब्ध गराएको र उपमहानगरपालिकाका कारण फ्रिज भएको राइले दावी गर्दै आएका छन् । तर मेयर राणा लगायत उपप्रमुख उमा थापा मगर लगायत उपमहानगर सम्वद्ध अधिकारीहरुले पत्रकार सम्मेलनमा उक्त आरोपको ठाडै अस्विकार गरेका छन् ।

कोभिड–१९ राहात कोषमा साँसद राईले रकम हाल्नु पर्ने हो तर वहाँले योजना पठाउनु भयो, जसका कारण सो रकम फ्रिज भएको हो –राणाले पत्रकार सम्मेलनमा भने –राजनीति गर्ने बेला गरौंला, अहिले आआफ्नो काम गरौं ।

स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमबाट भेरी अस्पताल नेपालगन्जका लागि भेन्टिलेटर खरिद गर्न नेपालगन्ज उपमहानगरपालिकालाई दिइएको डेढ करोड रकम उपमहानगरपालिकाका कारण फ्रिज भएको पूर्ब मन्त्री संघिय साँसद राईले बताएको दुई दिन पछि उपमहानगरपालिकाले विज्ञप्ती निकालेर खण्डन गर्दै आर्थिक वर्षको अन्त्यमा योजना संशोधन गरेको पत्र पठाएका कारण प्रक्रिया नै शुरु नभएको बताएको थियो ।

उपमहानगरपालिकाले खण्डन गरिसकेपछि साँसद राईले पत्रकार सम्मेलन गरि उपमहानगरपालिकाले गल्ती ढाकछोप गरिरहेको बताउँदै उनले यदी आफु गलत भए राजनीतिक जीवनबाट सन्यास लिने घोषणा गरेका थिए ।

  • १२ भाद्र २०७७, शुक्रबार प्रकाशित

  • Nabintech