गलत समूहको रगत चढाईएकी पीडितले अझैं पाईनन् क्षतिपूर्ति

असल शासन प्रतिनिधि

नेपालगञ्ज/भेरी अस्पतालको चरम लापरवाहीका कारण गलत समूहको रगत चढाईएकी एक पीडितले हाल सम्म क्षतिपूर्ती पाएकि छैनन् ।

अस्पतालले गल्ति स्विकारेर एक स्वास्थ्यकर्मीलाई कार्वाही गरिसक्दा समेत पीडितको पहुँच नपुग्दा उनले क्षतिपूर्ती नपाएकि हुन् ।

२०७६ पौष २६ गते भेरी अस्पतालको प्रसुती वार्डमा प्रसुतीका लागि भर्ना भएकि नेपालगञ्ज वडानम्वर ४ की पवित्रा शाहीलाई रक्तश्राव धेरै हुँदा ओ पोजेटिभ रगत चढाउनु पर्नेमा बि पोजेटिभ रगत चढाईएको थियो । यसरी अस्पतालका सम्बद्ध चिकित्सक र अन्य स्वास्थ्यकर्मीको चरम लापरवाहीका कारण भएको सो चरम त्रुटीले बिरामीको अवस्था नाजुक भएको थियो । उनको अवस्था नाजुक भएपछि अस्पतालले उनको थप उपचारका लागि काठमाण्डौं रिफर गरेको थियो । उनको थप उपचार त भयो पहिले जस्तो तन्दरुस्त भने अझ सम्म हुन सकेकि छैनन् । उनीबाट त्यसताका जन्मेको छोरोको अवस्था भने ठिक छ ।

सामान्य परिवारकी शाहीलाई अस्पतालले गल्ति भएको स्विकार्दै माफि माग्यो, क्षतीपूर्तीको आश्वासन समेत दियो तर झण्डै आठ महिना पुग्न लाग्दा समेत उनको कुरा अस्पतालले सुनेन ।

पीडितका श्रीमान अर्जुन प्रकाश शाही लगायत पटक, पटक अस्पताल धाए तर उनको कुरा सुनुवाई भएन । अस्पतालले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा २०७६ चैत्र ५ गते पत्राचार गरि पीडितलाई काठमाण्डौं उपचार गर्न लाग्दा भएको खर्च रकम ६७ हजार ९ सय ९६ रुपैयाँ औषधी उपचार खर्च स्वप उपलब्ध गराईदिन भन्दै पत्राचार गरेको थियो तर मन्त्रालयले सो रकम उपलब्ध गराएन ।

पीडितहरुका अनुसार, सो रकम मन्त्रालयले नपठाएको भन्दै अस्पताल आफ्नो जिम्मेवारीबाट पन्छिदै आएको छ । अस्पतालले पीडितलाई क्षतिपूर्ति नदिएपछि पीडित नेपालगञ्ज उपमहानगरपालिका पुगे, उपमहानगरपालिकाले जिल्ला प्रशासनलाई आवश्यक सहयोगका लागि पत्राचार गरिदियो, प्रशासनले अस्पताललाई पत्राचार गर्यो, हात लाग्यो शुन्य । पीडितले आजका मिति सम्म क्षतिपूर्ति पाएनन् ।

पीडितले न्याय नपाएको भन्दै स्थानीय प्रशासनको ढोका ढकढकाई रहेका छन् । यस बिषयमा भेरी अस्पताल प्रमुख डाक्टर प्रकाश थापा मन्त्रालयबाट रकम निकाशा नहुनुका साथै र बिकास समितिको निर्णय नभएकाले रकम भुक्तानी हुन नसकेको बताउँछन् । बिकास समितिले निर्णय गर्ने बित्तिकै हामी माग रकम भुक्तानी गर्छाैं–उनले भने ।

यस बिषयमा अस्पताल बिकास समिति सदस्य सरस्वती मल्लले घटनाको सबै बिबरण बुझि आवश्यक कार्वाही अघि बढाउने
बताईन् ।

पीडितहरुले आफुहरुको ध्यानाकर्षण गराएको भन्दै बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङ्गले यस बिषयमा तत्काल बैठक बसि पीडितलाई क्षतिपुर्ति दिन अस्पताल र बिकास समितिलाई आवश्यक समन्वय गरेको बताए ।

  • १४ भाद्र २०७७, आईतवार प्रकाशित

  • Nabintech