नेपालगन्जमा फुड बैंक सञ्चालनमा आउदै

असल शासन प्रतिनिधि

नेपालगन्ज । हुनेले दिउ नहुनेले लैजाउ भन्ने नाराका साथ नेपालगन्जमा फुड बैंक सञ्चालनमा आउने भएको छ । कोरोना भाईरसका कारण लक डाउन बढ्दै गर्दा आम नागरिकहरुले रोजगारी तथा मजदुरी गुमाएर खानाको समेत जोहो नभएका व्यक्तिहरुलाई लक्षित गरि फुड बैंक सञ्चालन हुन लागेको हो ।
बिगत केही हप्ता देखि बास नेपालगन्जले नेपालगन्जमा फुड बैंक स्थापनाको सम्भाब्यताका लागि सामाजिक संजाल मार्फत फुड बैंक संचालन तथा ब्यवस्थापन अभियान सञ्चालन गरेको थियो । बासले थालेको अभियानको चौतर्फि रुपमा सकारात्मक प्रतिक्रिया आएपछि बैंक संचालनका बिषयमा थप समन्वय गरिएको थियो ।
यसरी सबैको चासो र उत्साहका बिच सो बिषयमा नेपालगन्ज उप–महानगरपालिकाका प्रमुख डा. धवल शम्सेर राणाको अध्यक्षतामा भाद्र २३ गते नेपालगन्जमा फुड बैंक सञ्चालन तथा ब्यवस्थापन बिषयक छलफल भएको थियो । नेपालगन्ज स्थित विभिन्न क्षेत्रका प्रतिनिधि सम्मीलित सो छलफलको अन्त्यमा नेपालगन्जमा फुड बैंक सञ्चालन गर्ने निर्णय भएको छ । गैर सरकारी सस्था महासँघ बाँके शाखाको हलमा स्थापना हुने बैंकको सञ्चालक समिति संयोजकको जिम्मेवारी गैर सरकारी संस्था महासँघ नेपाल बाँकेका अध्यक्ष तथा बासका कार्यकारी निर्देशक नमस्कार शाहलाई दिएकोे छ भने सह संयोजकको जिम्मेवारी रोटरी क्लब अफ नेपालगन्जका अध्यक्ष डा बिनोद कर्णलाई दिएको छ । यसैगरी सदस्यहरुमा बासका हेमराज भट्ट, पूर्ण तारा फाउण्डेसनका तारा रोकाया, भ्वाईस नेपालगन्जका विशाल बिक्रम बर्मा लगायत १५ सदस्सीय सञ्चालक समिति चयन गरेको छ ।
यसैगरी फुड बैंकको दिगो व्यवस्थापनका लागि नेपालगन्ज उप–महानगरपालिकाका प्रमुख डा. धवल शम्सेर राणा प्रमुख संरक्षक तथा सल्लाहकार रहने गरी उप–प्रमुख उमा थापा मगर, उप–महानगरपालिकाका २३ ओटै वडाका अध्यक्षहरु, उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्ण प्रशाद श्रेष्ठ, नेपालगन्ज उद्योग बाणिज्य संघका प्रवक्ता टंक धामी, निर्वतमान अध्यक्ष नन्दलाल बैष्य, प्राध्यापक रबिन्द्र कर्ण, ब्यवसायि विजय यादब लगायत विभिन्न क्षेत्रमा क्रियाशिल व्यत्तित्वहरु सल्लाहकार रहनेगरी सल्लाहकार समिति गठन गरेको छ । चाडै सञ्चालक समितिको बैठक बसी फुड बैंकलाई औपचारीक रुपमा उद्टन गर्ने फुड बैंकका संयोजक नमस्कार शाहले बताएका छन् ।

  • २४ भाद्र २०७७, बुधबार प्रकाशित

  • Nabintech