पीसीआर रिपोर्ट र प्रभावकारी उपचारमा चरम लापरबाही

कोभिड–१९ कहर

मन भण्डारी

नेपालगन्ज / पछिल्लो समय कोरोना भाइरस (कोभिड–१९) को जोखिम बढेसँगै दिनप्रतिदिन संक्रमितको मृत्यु दर पनि बढ्दै गएको छ । समयमा पीसीआर रिर्पोट नआउनु र प्रभावकारी उपचार नपाउनुनै संक्रमितको मृत्युको कारण बन्ने गरेको छ । शीघ्र पीसीआर रिर्पोट नआउनु, मापदण्ड अनुसार आइसोलेशन र क्वारेण्टिन सञ्चालन नहुनु र संक्रमितहरूले समयमै प्रभावकारी स्वास्थ्य उपचार नपाउनुको कारणले पछिल्लो समय कोरानाबाट मृत्यु हुनेको सङ्ख्या बढेको जानकारहरू बताउँछन् ।

बुधबारमात्रै बाँकेका अधिकारकर्मी र सञ्चारकर्मीहरूले विज्ञप्ति जारी गर्दै पीसीआर रिपोर्टमा हुने ढिलाइ र उपचारमा हुने लापरबाहीका कारण संक्रमित बिरामीको मृत्यु हुने गरेको बताएका छन् । विज्ञप्तिमार्फ्त अधिकारकर्मीहरूले कोभिड संक्रमितको मत्युदर घटाउनका लागि प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउन सरोकारवालाहरूको ध्यानाकर्षण गराइएको छ । पत्रकार दामोदर भण्डारीले पीसीआर रिर्पोटको ढिलाइ मृत्यु दर बढ्नुको प्रमुख कारण भएको बताए । पीसीआर परीक्षण गरेको ३/४ दिनपछि रिपोर्ट आउनु र समयमै उपचार नपाउनुले बिरामीको अकालमा ज्यान जाने गरेको भण्डारीको भनाइ छ । बिरामीलाई सामान्य ज्वरो अथवा कुनै लक्षण देखिएको २÷३ दिनपछि पीसीआर परीक्षण गर्न जाने, पीसीआर परीक्षण गरेको ३/४ दिनपछि मात्रै रिपोर्र्ट आउने गरेको छ, भण्डारीले भने,‘त्यो समयसम्म बिरामीलाई निमोनियालगायतका समस्याहरू भइसकेको हुन्छन् र समयमै उपचार नपाएर मृत्यु हुन पुग्छ ।’ बिहान पीसीआर परीक्षण गरेको साँझ र साँझ पीसीआर परीक्षण गरेको बिहान रिपोर्ट आउने व्यवस्था हुनु पर्ने भन्दै भण्डारी भन्छन्,‘भेरी अस्पताल नेपालगन्जमा शुल्क तिरेर पीसीआर जाँच गर्नेहरूको रिपोर्र्ट बिहानको साँझ र साँझको बिहान आउँछ तर निशुल्क जाँच गर्नेहरूको रिपोर्ड २/३ दिन पछि आउँछ ।’ यो संस्कारको अन्त्य गर्न स्थानीय प्रशासनको ध्यान जानु पर्ने बताउँदै पीसीआर जाँच निःशुल्क गर्नुका साथै पीसीआर परीक्षणको रिपोर्टमा विभेद नगर्न भण्डारी आग्रह गर्दछन् ।

बुधबार सञ्चारकर्मीसहित मानव अधिकारकर्मीहरूले प्रकाशन गरेको प्रेस विज्ञप्तिमा शीघ्र पीसीआर रिर्पोट दिने व्यवस्था मिलाउनु पर्ने माग गरिएको छ । प्रेस विज्ञप्तिमा शीघ्र पीसीआर रिर्पोट दिने व्यवस्था मिलाउनु पर्ने, मापदण्ड अनुसार आइसोलेशन र क्वारेण्टिन सञ्चालन तथा खर्च पारदर्शी हुनुपर्ने, आम नागरिकको स्वास्थ्यको अधिकारलाई मध्यनजर राख्दै सर्वोच्च अदालतले पीसीआर रिर्पोट निशुल्क गराउने व्यवस्था मिलाउन सरकारका नाममा आदेश दिएको सन्दर्भमा निःशुल्क पीसीआर परीक्षणको व्यवस्था मिलाउन भनिएको छ । भेरी अस्पताल नेपालगन्जमा पीसीआर परीक्षण गराएका मध्ये शुल्क तिरेकाको शीघ्र रिर्पोट आउने र निशुल्क गराएकाहरूको ढिला आउने गरेको पाइएको अधिकारकर्मीहरूको भनाइ छ । लक्षणसहितका संक्रमितको उपचारमा ढिलाइ हुँदा हुनसक्ने मृत्युदर रोक्न सम्बन्धित निकायको ध्यान जानुपर्ने प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । आइसोलेशनमा रहेका संक्रमित बिरामीको प्रभावकारी स्वास्थ्य सेवामा ध्यान पु¥याउन नसक्दा र बिरामीहरूको आवश्यकता, चाहना र रुचि अनुसार गम्भीर बिरामीहरूका लागि स्वास्थ्यबर्धक पोषिलो र रुचिकर गुणस्तरीय खानाको व्यवस्थापन गर्न नसक्दासमेत बिरामीको मृत्यु हुने गरेको छ । पीसीआर परीक्षणमा आम नागरिकको सहज पहुँच पुग्न नसकेको र गराएकाहरूको रिर्पोट आउन ढिलाइ हुँदा गम्भीर प्रकृतिका बिरामीले तत्काल उपचार पाउन नसकेको अधिकारकर्मीको भनाइ छ ।

यसैगरी होम आइसोलेशनमा बसेका संक्रमितहरूको स्वास्थ्य अवस्थाका बारेमा ध्यान पुग्न नसकेको गुनासो समेत सुन्न थालिएको छ । कोभिड–१९ संकट व्यवस्थापन समितिका सदस्यहरूका बीचमा आवश्यक समन्वय र सहकार्य अभिृवद्धि हुनु पर्नेमा अधिकारकर्र्मीहरूको जोड छ । बाँकेमा कोभिड संक्रमणका कारण बुधबारसम्म २१ जनाको मृत्यु भइसकेकोे छ ।

  • २९ आश्विन २०७७, बिहीबार प्रकाशित

  • Nabintech