ह्याट्रिकपछि रोनाल्डोले गरे नेयमारको प्रशंसा

असल शासन प्रतिनिधि

ब्राजिलियन फुटबल लिजेन्ड रोनाल्डोले देशका लागि धेरै गोल गर्ने गोलकर्ताहरुको सूचीमा दोस्रो बन्न सफल भएकोमा नेयमारलाई बधाई दिँदै उनको प्रशंसा गरेका छन् ।

विश्वकप क्वालिफाइङमा पेरुविरुद्ध गरेको ह्याट्रिकसँगै नेयमार देशका सर्वाधिक गोलकर्ताहरुको सूचीमा दोस्रो स्थानमा उक्लेका थिए ।

२८ वर्षीय नेयमारको अन्तर्राष्टिय गोल संख्या ६२ पुगेको छ । अब उनीभन्दा अगाडि पेले मात्र छन्, जसको नाममा ७७ वटा अन्तर्राष्ट्रिय गोल छन् ।

यसअघि दोस्रो स्थानमा रहेका रोनाल्डो तेस्रो स्थानमा झरेका छन् । आफ्नो करिअरमा दुईवटा विश्वकप फुटबलको उपाधि उचालेका रोनाल्डोले सामाजिक सञ्जालमा नेयमारको खुलेर प्रशंसा गरे । ‘नेयरमारलाई मेरो पूरापुर सम्मान छ । उनी एकदमै धेरै खेल्छन्, अरुलाई पास मिलाउँछन्, छक्याउँछन्, प्रहार गर्छन् । तिम्रो लागि खुल्ला आकाश छ, जति सक्छौ उड बाबु ।’

रोनाल्डो थप्छन्, ‘तिमी कति सुन्दर कथा लेखिरहेका छौ । एउटा पूर्ण तथा बढ्दो रुपमा परिपक्क खेलाडी । कहिलेकाहीँ मैदानबाहिरको दबाब मैदानभित्रको भन्दा चुनौतिपूर्ण हुन्छ । अब तिमी मलाई भन, हामी कहाँबाट कहाँ आइपुग्यौ ? असम्भव के छ ? तिमी आफ्नो प्रतिभामा विश्वास गर । यो तिमीबाट कसैले खोस्न सक्दैन । तिमीले अरु पनि धेरै रेकर्डहरु बनाउनु छ ।
नेयमारले आफ्नो देशका लागि तीन वा सोभन्दा बढि गोल गरेको त्यो चौंथोपटक थियो ।

  • ३० आश्विन २०७७, शुक्रबार प्रकाशित

  • Nabintech