तेक्वान्दो खेलाडी विनोद थापाले एक घण्टामा २७५० ‘किक’ हाने

असल शासन प्रतिनिधि

तेक्वान्दो खेलाडी विनोद थापाले मोस्ट मार्शल राउण्ड हाउस किक इन वान आवर अर्थात् एक घण्टामा एक खुट्टाले सबैभन्दा बढी किक हानेका छन् ।

यो विधामा अहिलेसम्म कसैले पनि रेकर्ड बनाएका छैनन् । उनले एक घण्टामा एक खुट्टाले दुई हजार सात सय पचास पटक किक हानेका हुन् । सुदूरपस्चिम प्रदेश तेक्वान्दो सङ्घले धनगढीमा बिहीबार एक कार्यक्रमको आयोजना गरी यो रेकर्ड कायम गराएको हो । बिहीबार दिउँसो साढे १२ मा सुरु भइ साढे एक बजेसम्म एक घण्टामा २७५० किक हानेर यो रेकर्ड बनाएका हुन् ।

धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर ओडको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम सुदूरपश्चिम प्रदेश तेक्वान्दो सङ्घका अध्यक्ष सुवास शाहीको अध्यक्षतामा भएको थियो । सम्पन्न कार्यक्रममा विभिन्न मिडिया हाउसका पत्रकारहरु, कञ्चनपुर तेक्वान्दो सङ्घका अध्यक्ष ज्ञानेन्द्र सिंह, सुदूरपशिचम प्रदेश तेक्वान्दो सङ्घका वरिष्ठ उपाध्यक्ष केशव भट्ट, उपाध्यक्ष सरोज चौधरी, सचिव श्रीराम चौधरीलगायत प्रदेश सङ्घका पदाधिकारीहरुको समेत उपस्थिति भएको थियो । कार्यक्रम सुदूरपश्चिम प्रदेश तेक्वान्दो सङ्घका महासचिव पदमविक्रम सिंहले सञ्चालन गर्नुभएको थियो ।

अब विनोद थापाले आउँदो अक्टोबर २० का दिन मोस्ट मार्शल आर्ट्स किक इन वान आवर युजिङ अल्टरनेटिभ लेग्स अर्थात् एक घण्टामा दुवै खुट्टाको प्रयोग गरेर सबैभन्दा बढी किक हान्ने रेकर्ड बनाउँदै पुरानो रेकर्डलाई तोड्ने प्रयासमा हुनेछन् । अहिले यो रेकर्ड जापानका तेक्वान्दो खेलाडी मिजोकी कातोको नाममा रहेको छ । उनको नाममा एक घण्टामा तीन हजार ६ सय ३२ पटक किक हानेको विश्व रेकर्ड कायम भएको छ । त्यसपछि विनोद थापाको दुवै रेकर्ड्सको डकुमेन्ट गिनिज बुक अफ वल्र्ड रेकर्डको कार्यालयमा पठाइने छ ।

  • ३० आश्विन २०७७, शुक्रबार प्रकाशित

  • Nabintech