आईपीएलमा पञ्जाबको दोस्रो जित, बेङ्ग्लोर ८ विकेटले पराजित

असल शासन प्रतिनिधि

इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल)मा किङ्ग्स इलाभेन पञ्जाबले दोस्रो जित निकालेको छ । गएराति भएको खेलमा पञ्जाबले रोयल च्यालेन्जर्स बेङ्ग्लोरलाई ८ विकेटले पराजित गरेको हो।

सारजाहमा बेङ्ग्लोरले दिएको १७२ रनको लक्ष्य पञ्जाबले अन्तिम बलमा निकालोस पुरनले छक्का प्रहार गर्दै जित दिलाएका थिए । पञ्जाबले २ विकेट गुमाएर लक्ष्य भेटाएको हो । जारी सिजनमा पहिलो पटक मैदान उत्रिएको हार्ड हिटर ब्याट्सम्यान क्रिस गेलले अर्धशतकीय पारी खेले । उनी ५३ रन बनाएर रन आउट हुन पुगेका थिए ।

पञ्जाबको पारीको सुरुवात भने केएल राहुल र मयंक अग्रवालले गरेका थिए । पहिलो विकेटको रुपमा ७८ रनको साझेदारी भएको थियो । अग्रवाल ४५ रन बनाएर आउट भएपछि साझेदारी तोडियो । अग्रवालले २५ बलमा चार चौका र तीन छक्का प्रहार गरे।

त्यसपछि क्रिजमा आएका क्रिस गेलले आक्रामक पारी खेले । ४५ बल फेस गरेका गेलले पाँच छक्का र एक चौकाको मद्दतले ५३ रन प्रहार गरे । अन्तिम ओभरको एक बल बाँकी छँदा गेल रन आउट हुँदा १७१-२ रहेको थियो ।

त्यसपछि क्रिजमा आएर एक मात्र बल फेस गरेका निकोलस पुरनले छक्का प्रहार गरेपछि पञ्जाब दोस्रो जित दर्ता गर्न सफल भयो । कप्तान केएल राहुल पनि ६१ रनमा नट आउट रहे । राहुलले ४९ बलमा ५ छक्का र एक चौका प्रहार गरे । बेङ्ग्लाेरका युजबेन्द्र चहलले एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको बेङ्ग्लाेरले निर्धारित ओभरमा ६ विकेट गुमाएर १७१ रन बनायो । बेङ्ग्लाेरको पहिलो विकेटका लागि आरोन फिन्च र देवदत्त पडिकलले ३८ रनको साझेदारी गरेका थिए । पडिकल १२ बलमा १८ रन बनाएर आउट भए ।

त्यसछि क्रिजमा आएको विराट कोहलीले भने उत्कृष्ट प्रदर्शन गरे । उनी अर्धशतकबाट २ रनले पछि रहे । कोहली र फिन्चले बेङ्ग्लोरको पारी अघि बढाएका थिए । फिन्च व्यक्तिगत २० रन बनाएर आउट हुँदा बेङ्ग्लाेरको स्कोर ६२-२ रहेको थियो । त्यसपछि क्रिजमा आएका वासिङ्टन सुन्दर पनि धेरै बेर टिक्न सकेनन् । उनी व्यक्तिगत १३ रन बनाएर पभेलियन फर्किए ।

टिमको स्कोर १२७ रन भएका बेला शिवम् दुवेलाई गुमाएको थियो । दुवे २३ रन बनाएर आउट भएका थिए । एबी डेभिलियर्स भने आज चल्न सकेनन् । उनी जम्मा २ बलमा आउट भएका थिए । टिमको स्कोर १३६ रन भएका बेला कप्तान कोहली व्यक्तिगत ४८ रन बनाएर आउट भए । उनी छैठौं विकेटको रुपमा आउट भएका हुन् । कोहलीले ३९ बलमा तीन चौका प्रहार गरेका थिए ।

क्रिस मोरिस र इसुरु उडान नटआउट रहे । मोरिसले ८ बलमा २५ रन बनाए भने उडानाले ५ बलमा १० रन जोडे । अन्तिम ओभरमा २४ रन आएपछि बेङ्ग्लाेरले १७२ रनको लक्ष्य दिन सफल भयो । पञ्जाबका लागि मुरुगन अश्विन र मोहम्मद सामीले समान दुई/दुई विकेट लिए ।

  • ३० आश्विन २०७७, शुक्रबार प्रकाशित

  • Nabintech