भ्रष्टाचार बिरुद्धका अभियन्ता शाहको कृति खबरदारी बिमोचन

पुस्तक भित्र २४ वटा आलेख र १६ वटा संस्मरण

हेमराज भट्ट

नेपालगन्ज । भ्रष्टाचार बिरुद्धका अभियन्ता तथा बासका कार्यकारी निर्देशक नमस्कार शाहको कृति खबरदारीको आज नेपालगन्जमा विमोचन भएको छ ।

बास नेपालगन्जको आयोजनामा आयोजित कार्यक्रममा प्रमुख अतिथि नेपालगन्ज उप–महानगरपालिकाका प्रमुख डा. धवल शमशेर राणा, भ्रष्टाचार बिरुद्धका अभियन्ता केदार खड्का, लेखक शाहका आमा रमादेबी शाह र लेखकका दाई जयनारायण शाहले संयुक्त रुपमा पुस्तकको विमोचन गरेका छन् ।

पुस्तक विमोचन कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि नेपालगन्ज उप–महानगरपालिकाका प्रमुख डा. धवल शमसेर राणाले भ्रष्टाचारीलाई सामाजिक रुपमा बहिष्कार नगरे सम्म देशको विकास सम्भव नहुने बताए । भ्रष्टाचार शुन्य गर्न नसकेपनि निरन्तर भ्रष्टाचार बिरुद्ध काम गरेमा न्यूनीकरण गर्न सकिने बताए । बोद्धिक तथा ईमान्दार ब्यत्तिलाई राजनितिमा आउन अनुरोध गर्दै असल ब्यक्तिले नेतृत्व नगरेसम्म परिवर्तनको अपेक्षा गर्नु गलत हुने उनको भनाई थियो । बास र नमस्कार शाहले भ्रष्टाचार बिरुद्ध खेलेको भूमिका प्रति राणाले प्रशंसा गरेका थिए । विदेशमा भ्रष्टाचारीले चुनाव लड्ने आट गर्दैन तर नेपालमा अत्यधिक बहुमतले जित्छ, भ्रष्टाचार गरि जेल गएको ब्यत्ति छुट्दा हजारौं नेपालीले नै फूलमालाले स्वागत गर्ने गलत संस्कार नेपालमा रहेको भन्दै समाजका रहेको यस्तो गलत संस्कार तोड्नु पर्नेमा उनको जोड थियो । खबरदारी भ्रष्टाचार बिरुद्धको एउटा लिखित दस्ताबेज हुने भन्दै सुशासनको अभियानमा पूर्ण रुपमा सहयोग र समर्थन गर्ने उनले प्रतिबद्धता गरे ।

यस्तै कार्यक्रमका बिशिष्ट अतिथि भ्रष्टाचार बिरुद्धका अभियन्ता केदार खड्काले लेखक शाहलाई मध्यपश्चिम कै चम्कीलो ताराका रुपमा उदयमान भएको आफूले देखेको प्रतिक्रिय दिए । भ्रष्टाचार बिरुद्ध निरन्तर लडीरहनुपर्ने भन्दै युवाहरुको जुझारुपनले मात्रै समाज सुरक्षित हुने उनको भनाई थियो । पुस्तकले समाजमा बिद्यमान भ्रष्टाचार, अनियमितता, ढिलासुस्तीसँगै सार्वजनिक ब्यक्तिले गरेको पदको दूरुपयोगको यथार्थ चित्रण गरेकोले पुस्तक उत्कृष्ट रहेको उनले बताए । पुस्तक बिमोचन कार्यक्रममा उपस्थित हुन नसकेका राष्ट्रिय सूचना आयोगका पूर्ब प्रमुख सूचना आयुक्त तथा पुस्तकको भूमिकाकारको कृष्णहरी बास्कोटाले पुस्तक प्रकाशनको शुभकामना भिडियो मार्फत दिएका थिए ।

पुस्तक बिमोचन कार्यक्रमको शुरुवातमा पुस्तकको बारेमा जानकारी दिदै खबरदारिका लेखक नमस्कार शाहले आफूले लेखेका लेख र सस्मरणको संग्रह रहेको बताएका थिए । भ्रष्टाचार बिरुद्धको १९ बर्षे लामो यात्रामा देखेका र भोगेका भोगाईहरु सहितका २४ वटा आलेख र १६ वटा संस्मरण समेटिएको उनले बताएका थिए । पुस्तकको विमोचन पछि बरिष्ट पत्रकार पूर्णलाल चुके र शिक्षाबिद किरण आचार्यले पुस्तकका बारेमा टिप्पणी गरेका थिए । बासका कार्यवाहक अध्यक्ष लुना बुढाथोकीको अध्यक्षतामा भएको विमोचन कार्यक्रममा स्वागत बासका केन्द्रीय महासचिब शिब कुमार बर्माले गरेका थिए । कार्यक्रमको सञ्चालन बासका निर्वतमान अध्यक्ष मन भण्डारीले गरेका थिए । कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल शमशेर राणा, भ्रष्टाचार बिरुद्धका अभियन्ता केदार खड्का, लेखकका आमा रमादेबी शाह, बासका संस्थापक सल्लाहकार रुद्र प्रसाद तिमिल्सिना, नेपाल बार एसोसिएसनका केन्द्रीय उपाध्यक्ष सुनिल श्रेष्ठ, नेपालगन्ज उद्योग बाणिज्य महासँघका केन्द्रीय सदस्य कृष्ण प्रसाद श्रेष्ठ, नेपालगन्ज उद्योग बाणिज्य संघका महासचिब चिरन्जीबि वली, निर्वतमान अध्यक्ष नन्दलाल बैष्य, नेपाल चिकित्सक संघ भेरीका अध्यक्ष डा. विनोद कर्ण लगायतको उपस्थिती रहेको थियो ।

बि.स. २०४१ साल साउन २३ गते अछामको तुर्माखाँदमा जन्मिएका लेखक शाहले जनमतको प्रकाशन कुराकानी २०६१, को हुन सेतु २०६४, असल शासन २०७४ यस अघि नै प्रकाशनमा ल्याई सकेका छन् । बि.स. २०५७ साल देखि बागेश्वरी असल शासन क्लब (बास) गठन गरि भ्रष्टाचार बिरुद्धको अभियानमा होमिएका शाहले जनमत साप्ताहीक, जनआस्था, असल शासन पोष्ट लगायत दुई दर्जन बढी पत्रिका तथा बासका पूर्ब अध्यक्ष, कार्यकारी निर्देशक, गैसस महासंघ नेपाल बाँके शाखाको अध्यक्ष लगायत संघसंस्थाहरुको महत्वपूर्ण पदमा रही काम गरिरहेका छन् ।

  • १ कार्तिक २०७७, शनिबार प्रकाशित

  • Nabintech