सानैमा बिहेवारी, सन्ध्यालाई दुःखको भारी

ईन्द्रा कुमारी जि.सी.

नेपालगञ्ज/नेपालगञ्ज उपमहानगरपालिका वडा नं ७ की सन्ध्या क्षेत्री (नाम परिवर्तन) अहिले २४ बर्षकी भइन् । सन्ध्याको घरमा आमा, बहिनी र भाई गरी चार जनाको परिवार छ । सन्ध्या सानै छँदा उनको बुवाको मृत्यु भएकोले उनी लगायतका भाई बहिनीले बुवाको मायाको अनुभूति गर्न पाएनन् । घरको आर्थिक अवस्था पनि निकै कमजोर भएका कारण राम्रो शिक्षा दिक्षा पनि पाएनन् ।

दुःख गरेर हुर्काउने काम आमाले गरिन् । आमाको दुःख देखेर नरमाईलो लाग्थ्यो तर आफुहरु सानै भएकाले आमाको दुःखमा साथ दिन नसकेको सन्ध्याको भनाइ छ ।

समय पनि सधैं एकैनाश कहाँ हुन्छ र रु सन्ध्याको परिवारमा कहिल्यै सोचे जस्तो भएन अभाबै अभाबमा बालापन बित्यो कतिपय रहरहरु आशै आशमा निराश भई मरेर गए । घरको आर्थिक अवस्था कमजोर भएकाले राम्रोसगँ पढ्न लेख्न नपाएका सन्ध्याका भाइ बहिनीहरुले दुःख का दिनहरु बिताउदै गए ।

बिस्तारै समयको परिवर्तनसंगै सन्ध्याको दिनचर्या पनि बित्दै गयो । उनको १५ बर्षको कलिलो उमेरमा एक जना युवकसंग प्रेम गरेर आफु खुशी बिबाह भयो । हरेक नारीहरुको सपना जस्तै सन्ध्याका पनि कैयौं सपनाहरु थिए । श्रीमानको माया ममतामा बाँच्ने र सुख पाउने सन्ध्याको सपना थियो । तर त्यो सपना सपनामै सिमत रह्यो । सानैदेखि दुःखै दुःखमा जीवन बिताउँदै आएकी उनलाई बिबाह पछि पनि सुख मिलेन । बिवाह गरेको केहि समयमै आमा बन्न पुगिन् सन्ध्या । १५ बर्षको कलिलै उमेरमा छोरीको जन्म भयो ।

सुरुवातको केहि समय श्रीमानले माया गरे जस्तो गरे पनि बिस्तारै उनको ब्यबहार परिवर्तन हुन थाल्यो । कामको सिलसिलामा बाहिर जाने, घर नआउने श्रीमतीको वास्ता नगर्ने गर्न थाले । श्रीमानको त्यस्तो व्यबहार देखेर सन्ध्यालाई दिक्क लाग्थ्यो । यस्तै क्रममा सन्ध्याको अर्को छोरीको पनि जन्म भयो । त्यसपछि सन्ध्यालाई जिम्मेवारीले झन सताउन थाल्यो । श्रीमानले श्रीमती र छोरीहरु प्रति पुरा गर्नुपर्ने जिम्मेवारी र मायाले छुन सकेन । हरेक मान्छेले पीडा र दुःख सहनुको पनि सिमा हुन्छ । जसलाई माया र बिश्वास गरेकी थिइन् उसले नै धोका धोका दिएर आफ्नो र छोरीहरुको कुनै वास्ता नगरेपछि सन्ध्यालाई समस्या माथि समस्या थपियो ।

सन्ध्या २० बर्षकी हुदाँ २ सन्तानकी आमा भैसकेकी थिइन् । श्रीमानले वास्ता नगरी छोडेर हिडे पछि त्यो घरमा सन्ध्याको आफ्नो कोहि भएन । त्यसपछि उनी २ अबोध छोरीहरु लिएर माईतीमा बस्न थालिन् । उनको माईतीमा पनि आमा, भाई र बहिनी मात्र थिए । माइतिको पनि आर्थिक अवस्था कमजोर थियो । आर्थिक अभाबका कारण बहिनी होटलमा दोहोरी गीतहरुमा नाच्ने काम गर्थिन् । त्यसैबाट घरमा अलिकति भएपनि आर्थिक सहयोग भएको थियो । तर बहिनीलाई उसैको केटा साथीले नशा (ड्रग) खान सिकाएछ ।

बिस्तारै सन्ध्याको बहिनीले घर आउन र पैसा दिन छाडिन् । यता सन्ध्याको जीवन पनि अस्तब्यस्त थियो । दुई छोरीको पालन पोषण कसरी गर्ने भन्ने चिन्ताले सताउँथ्यो । उसो त सन्ध्या आफै पनि केटाकेटी नै थिइन् । बहिनिसंग होटलमा जाँदा उनीहरुले नशा खाएर मस्त भएको देख्दा सन्ध्या पनि विस्तारै थाहा नै नपाई नशाको कुलतमा फस्न पुगिन् । जिन्दगीमा ठूलो वज्रपात भए जस्तै भयो । दिनानुदिन छोरीहरु हुर्कदै थिए । जिम्मेवारी थपिदै थियो सन्ध्या भने नशाको दलदलमा पूरै फसिसकेकी थिइन् ।

जँहाबाट बाहिर निस्कन सम्भब थिएन । नशाको प्राप्तीमा बहिनीसंगको कुसंगतमा लागेर नेपालगञ्जको चोक चोकमा भौतारीन थालिन् । नशा खान पैसा चाहिन्थ्यो तर सन्ध्या संग पैशा थिएन । नशा सेवन गर्नकै लागि उनले आफ्नो शरिर समेत बेच्न थालिन् । छोरीहरु माइतीमा छोडेर अर्कै दुनियाँमा थिइन् उनि । उनकी आमाले छोरीहरुलाई माया गरे पनि आर्थिक अवस्था कमजोर भएको कारण छोरीहरुको पालन पोषण गर्न समस्या थियो । सन्ध्यालाई छोरीहरुको कुनै मतलव थिएन । जसरी भए पनि उनलाई नशा सेवन गर्नु पर्थौ । त्यस बखत उनले सबथोक भुलेकी थिइन् । घर परिवार छोरीहरु कसैको मतलब थिएन ।

एक दिनको कुरा हो एक जना महिलासंग सन्ध्याको भेट भयो । उनले पनि सन्ध्या जस्तै नशा सेवन गर्ने रहिछन् । पछि ति महिलाले मेथाडोन औषधी सेवन गरिरहेको सन्ध्यालाई जानकारी भयो । त्यो कुराको वारेमा जानकारी पाएपछि सन्ध्या पनि बहिनीलाई लिएर परिवर्तन समुह (चेञ्ज टीम) को कार्यलयमा पुगिन् । त्यहाँबाट मेथाडोन औषधीको बारेमा परामर्श दाताबाट सम्पूर्ण जानकारी पाएपछि सो कार्यक्रममा भर्ना भइन् । त्यो औषधी सेवन गरेपछि नशा खान मन नलाग्ने, पैसा पनि नपर्ने स्वास्थ्यको हिसाबले पनि राम्रो हुने कुरा परामर्श दाताले राम्रो संग जानकारी दिएपछि २६ मार्च २०१८ मा भर्ना भएर नियमित औषधी सेवन गर्न थालिन् सन्ध्या र उनकी बहिनी ।

सन्ध्याले सुखी जीवन विताउने कल्पना गरेर सानै उमेरमा जो सँग विवाह गरिन् उसैले धोका दियो । जसको कारण उनि नशाको कुलतमा फस्न पुगिन् । पछि उ संग छोडपत्र भयो । बिस्तारै सन्ध्याको जीवन शैलिमा परिवर्तन आउन थाल्यो । कुनै दिन आफैलाई समेत भुलेकी उनलाई छोरीहरुको माया लाग्न थाल्यो । फेरी उन्ले पूर्नविवाह गरिन् । हाल उनको श्रीमान उनलाई र छोरीहरुलाई असाध्यै माया गर्छन् । मेथाडोन औषधी खान जान सहयोग गर्दै आएका छन् । आज भोली उनि एकदमै खुसी छन् । विहान ९/ १० बजे औषधी खान्छन्, अनि घर परिवार सम्हालेर बस्छिन् ।

चेञ्ज टीम संस्थाको सहयोगबाट तिन महिने सिलाई कटाई तालिम पनि लिने अवसर पाएकी छन् उनले । अब विस्तारै डोज घटाएर एक दिन पूरै नशा विहिन भएर जीवन विताउने योजना उनले बनाएकी छन् ।

उनी काहाली लाग्दो जीवनबाट छुटकारा दिएर सहयोग गर्ने हरुप्रति आभार प्रकट गर्छन् । मेथाडोन औषधी सेवनले उनको जीवनमा ठूलो परिवर्तन ल्याएको छ । उनले पूर्न जन्मनै पाएको महसुस गरेकी छन् । सन्ध्या जस्तै थुप्रै लागू पदार्थको दूब्र्यसनको कुलतमा फसेका दिदी बहिनीहरुका लागि मेथाडोन औषधी प्रभाबकारी भएको उनको भनाइ छ । यसमा सबैको अझ सहज पहुँच भए संस्था र कार्यक्रमले लिएको लक्ष्यले सार्थकता पाउने सन्ध्या बताउँछिन् ।

 

 

  • १० कार्तिक २०७७, सोमबार प्रकाशित

  • Nabintech