दश जना जुवाडे लाखौं रकम सहित पक्राउ

जुवाखालबाट २९ लाख ४८ हजार ७ सय रकम बरामद

असल शासन प्रतिनिधि

नेपालगन्ज/जिल्ला प्रहरी कार्यालय बाँकेले ठूलो धनराशी सहित जुवाडेहरुलाई पक्राउ गरेको छ ।

प्रहरीले कार्तिक १२ गते बुधबार राती नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४, बसपार्क क्षेत्रमा रहेको कृष्ण प्रसाद वलीको घरबाट जुवा खालमा कटपट्टि तास खेलिरहेका जुवाडेहरुलाई पक्राउ गरेको हो । जुवाखालबाट प्रहरीले २९ लाख ४८ हजार ७ सय रकम बरामद गरेको छ ।

बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाका अनुसार, जिल्ला प्रहरी र वडा प्रहरीबाट खटिएको प्रहरी टोलीले बुधबार राती १० जना जुवाडेलाई रकम, तास सहित पक्राउ गरिएको हो । रानाका अनुसार, पक्राउ परेकालाई मुलुकी अपराध संहित ऐन २०७४ को परिच्छेद ५ दफा १२५ बमोजिम मुद्धा चलाईनेछ ।

मोटो रकम सहित जुवातास खेलिरहेको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाले बताए ।

१४ बुँदे विशेष सुरक्षा योजनासहित अगाडि बढेको बाँके प्रहरीले जुवातास नियन्त्रणका लागि गरेको यो ठूलो कार्वाही हो ।
जुवा खालबाट पक्राउ पर्नेहरुमा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ का सन्तोष थापा, ६ का मेघनाथ कुचबदियाँ, ४ का नविन घिमिरे, १० का टोप बहादुर शाही, ४ का पब्लु भण्डारी र तरुण गौतम, ७ का रविन राणा, ४ का सन्तोष वली र कृष्ण बहादुर सुवेदी र १ का रहमान मिया रहेको प्रहरीले जनाएको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङ्ले प्रहरीको हिँजोको कार्वाहीलाई लिएर सामाजिक सञ्जालमा लेखेका छन् –बाँकेमा महाभारतकालको झल्को दिने जुवा हिजोको प्रहरी अप्रेसन पछि बन्द हुने अपेक्षा गरेका छौं ।

 

  • १३ कार्तिक २०७७, बिहीबार प्रकाशित

  • Nabintech