प्रजिअद्वारा कार्यक्रम बहिष्कार

तपाईंहरुका कुरा तपाईंहरुनैं सुन्नुहोस् भन्दै उनी कार्यक्रमबाट हिंडेका थिए ।

नमस्कार शाह

कुरा २०७०असार २ गतेको हो । हामी महेन्द्रनगरको कञ्चनपुरमा थियौं भ्रष्टाचार बिरुद्धका क्षेत्रीय सम्वाद कार्यक्रम सञ्चालन गर्ने क्रममा । बिभिन्न संघ, संस्थाको समन्वयमा बासले सो कार्यक्रम आयोजना गरेको थियो । महेन्द्रनगरको एक होटेलमा आयोजना गरिएको कार्यक्रममा सुदुरपश्चिमका ९ वटा जिल्लाका युवा लगायत जिल्ला स्थित सरोकारवालाहरुको उपस्थिती रहेको थियो ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी परशुराम अर्यालको प्रमुख आतिथ्यतामा कार्यक्रम शुरु भएको थियो । बासका पश्चिमाञ्चल उपाध्यक्ष मन भण्डारीले सहजिकरण गरेको कार्यक्रममा मैले भ्रष्टाचार बिरुद्धको कार्यपत्र प्रश्तुत गरें । कार्यपत्रमा भ्रष्टाचारको अवस्था, भ्रष्टाचारका कारण, असर र भ्रष्टाचार बिरुद्ध भएका पहल आदि बिषय समेटिएको थियो । भ्रष्टाचारको कुरा गर्दा सरकारी निकायमा भईरहेको अनियमितता, ढिलासुस्तिका कुराहरु उल्लेख हुनु स्वभाविकै हो ।

कार्यपत्र प्रश्तुत गरिसकेपछि खुला छलफल गर्ने, खुला छलफल पश्चात अतिथीहरुको मन्तव्य राख्ने र अन्तमा कञ्चनपुर घोषणा–पत्र जारी गर्ने कार्यक्रम तालिका रहेको थियो । सोही तालिका बमोजिम मेरो कार्यपत्र प्रश्तुतिकरण पछि खुला छलफललाई अगाडी बढाईयो ।

खुला छलफलमा धेरैले कार्यपत्र राम्रो भन्दै सुझाव, सल्लाह दिए तर एक जना पत्रकारले मेरो कार्यपत्र पूर्वाग्रही भएको, सरकारी निकायको मात्र आलोचना भएको भन्दै आलोचना गरे । मैले उनको आलोचना सुनें । प्रश्नको समय सकिएपछि मेरो उत्तर दिने पालो आयो । अरुले उत्तर सुने । तर कार्यपत्रको आलोचना गर्ने पत्रकारले मेरो उत्तर सुन्न चाहेनन् र फेरी उठेर कार्यपत्रका साथै कार्यक्रमकै बिरोध गर्न थाले । मैले उनलाई तपाईंको प्रश्न सुनें, आलोचना पनि सुनें । मेरो पनि उत्तर सुन्नु पर्यो भनिरहँदा कार्यक्रममा प्रमुख अतिथीको आसनग्रहण गरिरहेका कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी परशुराम अर्यालले तपाईंहरुका कुरा तपाईंहरुनैं सुन्नुहोस् म बस्दिन भन्दै कार्यक्रमबाट हिँडे ।

प्रजिअ बिना कारण कार्यक्रम छाडेर हिंडेपछि उनसँगै केही सरकारी कार्यालय प्रमुखहरु पनि कार्यक्रम छाडेर हिँडे । प्रमुख अतिथीलेनैं कार्यक्रम बहिष्कार गरेर हिँडेपछि कार्यक्रम स्थगित हुन्छ कि भन्ने आशँका केही सहभागिहरुमा थियो । तर हामीले कार्यक्रम नरोकेर अघि बढायौं ।

यसरी कार्यक्रम अघि बढाएपछि सहभागिहरुले हामीहरुलाई धन्यवाद दिँदै प्रजिअको कार्यशैली प्रति आपत्ति जनाए । हामी प्रजिअलाई सुनाउन आएका हौं, कुरा नसुनिकनै वहाँ जानु भयो, वहाँको यो गैर जिम्मेवारीपन हो–सहभागिहरुले कार्यक्रममा भने–सरकारी कार्यालयमा भईरहेको भ्रष्टाचारका बारेमा कुरा सुन्न नसकेपछि वहाँ उठेर हिँड्नु भयो ।

यस्तो बिषम परिस्थितीमा पनि कार्यक्रमलाई गन्तव्यमा पुर्याएर समापन गरियो । ३ बुँदे कञ्चनपुर घोषणापत्र जारी गर्दै सम्पन्न भएको कार्यक्रमका लागि नेपालगञ्जबाट म लगायत सहकर्मीहरु मन भण्डारी, बास सुदुरपश्चिम उपाध्यक्ष मञ्जु बोहरा र केन्द्रीय सदस्य प्रतिक्षा गिरी त्यहाँ गएका थियौं ।

कार्यक्रम सकिएपछि नागरिक दैनिक लगाएतका पत्रपत्रिकाले भ्रष्टाचार बिरुद्धको कार्यक्रम प्रजिअद्धारा बहिष्कार शिर्षकमा समाचारहरु प्रकाशन गरेका थिए ।

(शाहको हालै सार्वजनिक भएको पुस्तक खबरदारीबाट साभार -सम्पादक)

  • १३ कार्तिक २०७७, बिहीबार प्रकाशित

  • Nabintech