आज मोहम्मद डे

सुरक्षा सावधानिका साथ पर्व मनाउन सरोकारवालाको अपिल

असल शासन प्रतिनिधि

नेपालगन्ज/इस्लामका प्रवर्तक हजरत मोहम्मद मुस्तफाको जन्मदिन को अवसरमा आज मुस्लिम धर्मावलम्बीहरुले मोहम्मद डे धुमधामका साथ मनाईरहेका छन् ।
ईस्लामीहरुले खुशियालीका साथ मनाउने यो पर्ब मुस्लिमहरुले हरेक वर्ष इस्लामी पात्रो अनुसार तेस्रो महिना बाराह रबिउल अव्वलको १२ तारीखका दिन विलादत (जन्मोत्सव) को खुशीमा विश्व भरी मनाउने गरिन्छ । मोहम्मद डे को सु–अवसरमा विश्वभरिका मुस्लिमहरु आ–आफ्नो घरको सरसफाई गरी घरमा रंगरोगन गराएर घर घरमा झण्डा फरहराउछन् । मुस्लिमहरुले मोहम्मद डे को अवसरमा घर घरमा बत्ति लगाउने र दीप प्रज्वलित गर्ने गर्दछन् । मोहम्मद डे को अवसरमा ईस्लामिकहरुले नुवाइ धुवाइ गरी नयां कपडा र कपडामा इत्तर लगाई रात भरी जागेर इबादत गर्छन् । रातमा आफ्ना मृतकहरुका लागि मगफिरतको दुआ गर्न कब्रस्तान जाने प्रचलन छ । भोलिपल्ट घरमा मीठामीठा परिकार बिर्यानी, खीर र हलुवा आदि बनाएर साथीभाई र आफन्तलाई बोलाएर खाना खुवाउने गर्दछन् ।
सद्भावको सहर नेपालगन्जमा पनि मोहम्मद डे को अवसरमा निकै धुमधामका साथ मनाउने प्रचलन रहेको छ । मोहम्मद डे को अवसरमा बाँकेमा सामाजिक सद्भाव कायम गर्न गराउन योगदान पु¥याउने ब्यक्तिहरुलाई सम्मान गरिदै आएको छ ।
यो बर्ष कोरोना महामारिका कारण नेपालमा मनाईने पर्वहरुमा उत्साह देखिएको छैन । आज मनाईरहेको मोहम्मद डे को अवसरमा भौतिक दूरी कायम गर्दे, मास्क लगाएर सुरक्षा सावधानिका साथ मनाउन जामा मश्जिदले सबैलाई सार्वजनिक अपिल समेत गरेको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले असोज ३० गते सूचना जारी गर्दै जिल्लामा कोरोना भाईरसको सक्रमणलाई ध्यानमा राखि पर्वहरु घरपरिवार सँग मात्र मनाउन अपिल गरेको छ । बाँकेको नरैनापुर गाँउपालिकाले मोहम्मद डे को अवसरमा आज सार्वजनिक विदा घोषणा गरेको छ ।

  • १४ कार्तिक २०७७, शुक्रबार प्रकाशित

  • Nabintech