भारतीय नागरिकलाई नागरिकता सिफारिस गर्ने वडा अध्यक्ष पक्राउ

नक्कली बुवा फरार, दाई प्रहरी नियन्त्रणमा

असल शासन प्रतिनिधि

धनगढी ।
भारतीय नागरिकलाई नागरिकता दिलाउन सिफारिस गर्ने एक वडा अध्यक्षलाई प्रहरीले पक्राउ गरेको छ ।
बंशजका आधारमा भारतीय नागरिक अलियास अन्सारीको नागरिकता बनाईदिन सिफारिस गर्ने धनगढी उपमहानगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष गणेशप्रसाद जोशी पक्राउ परेका हुन ।
प्राप्त जानकारी अनुसार वडा अध्यक्ष जोशीले वडा नम्बर १२ कै हिम्मतपुर शिविरका पुनिराम चौधरी नक्कली बुवा बनाई २०७५ साल फागुन २० गते भारतीय नागरिक अलियास अन्सारीलाई बंशजका आधारमा नागरिकता दिन नक्कली सिफारिस गरेको जानकारी प्रहरीलाई भएपछि सो कार्यमा संलग्न अध्यक्षलाई प्रहरीले पक्राउ गरेका छन् ।
भारतीय नागरिकको नक्कली बुवा बनेका पुनिराम चौधरी हाल फरार रहेको प्रहरीले जनाएको छ । प्रहरीले वडा अध्इयक्ष सँगै नक्कली बुवा पुनीराम चौधरीका दाजु खुसीराम चौधरीलाई पक्राउ गरेको जनाएको छ । अवैध कार्यमा संलग्न भई पक्राउ परेका वडा अध्यक्ष नेपाली काँग्रेसबाट विजयी जनप्रतिनिधि हुन् ।
नेपाली नागरिकता ऐन २०६३ को दण्ड सजाय सम्बन्धि दफा २१ मा बिदेशीले नेपाली नागरिक भएको झुठो दावी गरी नागरिकता प्राप्त गरेमा १ वर्षदेखि ५ वर्ष सम्म कैद र ५० हजारदेखि १ लाख सम्म जरिवाना वा दुवै सजाय हुनसक्ने व्यवस्था रहेको छ भने उक्त दफा बमोजिम सजाय भएमा प्राप्त गरेको नागरिकता समेत स्वतः रद्द हुने कानुनमा उल्लेख छ । सोही दफाको उपदफा २ मा कुनै विदेशीलाई झुठो विवरणका आधारमा नागरिकता दिलाउने कार्यमा सनाखत वा सिफारिस गर्ने व्यक्तिलाई ६ महिनादेखि ३ वर्ष समम कैद वा २५ हजारदेखि ५० हजार सम्म जरिवाना वा दुवै सजाय हुने उल्लेख छ ।

  • १४ कार्तिक २०७७, शुक्रबार प्रकाशित

  • Nabintech