प्लाज्मा दान गरौ, अरुको जीवन बचाऔं

असल नायक बन्ने अवसर

राहुल थापा

यदि तपाईं कोरोना भाइरस संक्रमणबाट पूर्णरुपले निको हुनुभएको छ भने, कोरोना भाइरस संक्रमणसँग लडिरहेका अन्य बिरामीहरूलाई प्लाज्मा दान गरेर मद्दत गर्न सक्नुहुनेछ ।

तपाईंले संक्रमणसँग लड्नुभयो, त्यसैले तपाईंको प्लाज्मामा कोरोना भाइरस विरुद्ध प्रतिरोधी क्षमता अर्थात एन्टिबडीहरू हुन्छछन् । यी एन्टिबडीहरूकै कारण तपाईंको प्रतिरक्षा प्रणाली बलियो बन्यो र तपाईले भाइरस संक्रमणलाई जित्न सफल हुनुभयो । यस प्लाज्माले गम्भीर प्रकृतिका भाइरस संक्रमितको उपचारमा मद्दत गर्दछ ।

आफु त हामी कोभिडबाट निको भयौं अव आफुजस्तै संक्रमित भएर गम्भीर अवस्थामा पुगेकाहरुलाई बचाउने मानविय धर्म निभाउने जिम्मेवारी पनि तपाई हाम्रो हो । दुर्भाग्यवश, कोरोना भाइरसबाट निको भएका धेरै व्यक्तिहरू प्लाज्मा दान गर्न अझै पनि खुलेर अगाडि आउँदैनन् ।

प्लाज्मा दान गर्दै भेरी अस्पताल प्रमुख डाक्टर प्रकाश थापा साथमा कोभिड १९ का बाँके फोकल पर्सन नरेश श्रेष्ठ  ।

व्यक्तिहरूको आफ्नै आशंका र प्लाज्मा दान बारेमा भ्रम छ । कतिपयले प्लाज्मा दान गर्दा शारिरीकरुपमा कमजोर भइन्छ भन्ने बुझाइ छ । त्यो एकदम गलत हो । प्लाज्मा दिदैमा शरिर कमजोर हुने वा शरीरलाई कुनै हानि हुने हुँदैन । पोजिटिभ भएको २८ दिन पछि र कोभिड पिसिआर नेगेटिभ भए पछि प्लाज्मा दान दिन सकिन्छ । अर्को कुरा, विगतमा गर्भवती भएका वा कुनै कारणले गर्भपतन भएका महिलाहरू प्लाज्मा दिन मिल्दैन ।

कतिपयमा प्लाज्मा दिँदा फेरी पीसीआर परीक्षण गर्नुपर्ने र पोजेटिभ भए फेरि आइसोलेसनमा बस्नु पर्ने हुन्छ कि भन्ने बुझाइ छ । त्यो पनि गलत हो, रिपोर्ट पोजेटिभ नै आएपनि अस्पताल तथा संस्थागत आइसोलेसनमा बस्नु पर्दैन घरमै बस्न पाइन्छ ।

बाँकेमा आजसम्म कोरोना भाइरस संक्रमणबाट मुक्त हुनेको संख्या २ हजार ७ सयको हाराहारीमा पुगेको छ । तर प्लाज्मा दिनेको संख्या ४० को हाराहारीमा मात्रै छ । तसर्थ कोरोना भाइरसबाट निको भएका सबैलाई प्लाज्मा दान गर्न तर्फ हामी अनुरोध गर्दछौं ।

प्लाज्मा दान गर्नुहोस्, जीवन बचाउनुहोस्, एक असल नायक बन्नुहोस् ।

  • १५ कार्तिक २०७७, शनिबार प्रकाशित

  • Nabintech