‘जनप्रतिनिधि र कर्मचारीको समन्वयले समृद्धि ल्याउँछ‘

असल शासन प्रतिनिधि

बाँके(राप्तीसोनारी)– जनप्रतिनिधि र कर्मचारीको समन्वयले समृद्धि ल्याउने राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारुले बताएका छन् । गाउँपालिकामा आइतबार सरुवा भई आएका प्रमुख प्रशासकीय अधिकृत नरबहादुर बिकलाई स्वागत गर्ने क्रममा अध्यक्ष थारुले सो कुरा बताएका हुन् ।

। स्वागत कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष थारुले गाउँपालिकालाई राम्रो बनाउनका लागि जनप्रतिनिधिले गरेको प्रयासलाई सहज र राम्रो बनाउन कर्मचारीको ठुलो हात हुने बताए । जनप्रतिनिधी र कर्मचारीले आफ्नो काम, कर्तब्य पालना गरेपछि गाउँपालिकाले फड्को मार्ने बताउँदै अध्यक्ष थारुले थपे, ‘जसले जे जिम्मेवारी पाएको छ, त्यसको पालना गर्नुपर्छ, जसले बढी काम जानेको हुन्छ, उसले नै बढी जिम्मेवारी पाएको हुन्छ ।’ कर्मचारी पनि सेवा निवृत्त भइसकेपछि समाजमै फर्किनु पर्ने बताउँदै अध्यक्ष थारुले कर्मचारीले काम गर्दा जनतालाई कहिल्यै पनि दुःख दिन नहुने धारणा राख्दै गाउँपालिकामा सुशासन कायम गर्न र बेरुजु कम गर्नमा पनि कर्मचारीको धेरै भूमिका रहने बताए ।

दाङ जिल्लाको शान्तिनगर गाउँपालिकाबाट सरुवा भई आएका प्रमुख बिकले कर्मचारी र जनप्रतिनिधिबीचको सम्बन्ध नङ र मासुको जस्तो रहेको भन्दै जनप्रतिनिधिसँग मिलेर काम गर्नुको विकल्प नरहेको बताएका छन् । ‘कर्मचारी भनेको राजनीति र प्रशासनबीचको अन्तर सम्बन्ध हो,’ उनले भने,‘कर्मचारी जहिल्यै पनि जनप्रतिनिधिप्रति नै उत्तरदायी हुनुपर्छ ।’ कर्मचारीले काम गर्ने क्रममा आफ्नो क्षमता, सीप र ज्ञानको उपयोग गर्नु पर्ने प्रमुख प्रशासकीय अधिकृत बिकको भनाइ रहेको छ ।

सो क्रममा गाउँपालिकाका उपाध्यक्ष धनीकुमारी खत्री, लेखा शाखा प्रमुख गौरव लामिछाने, योजना शाखा प्रमुख बालानन्द पौडेल, शिक्षा शाखा प्रमुख जीवन न्यौपाने, स्वास्थ्य शाखा प्रमुख विष्णुप्रसाद चुडाली, कृषि शाखा प्रमुख चन्द्रा शाही, प्राविधिक शाखा प्रमुखलगायतको उपस्थिति रहेको थियो ।

  • १६ कार्तिक २०७७, आईतवार प्रकाशित

  • Nabintech