बढ्यो जमुनामा भिड

असल शासन प्रतिनिधि

नेपालगन्ज । भारत जानेको संख्या बढ्न थालेपछि नेपाल भारत सिमा नाका जमुनाहमा भिड हुन थालेको छ । अत्यावश्यक काम बाहेक पनि भारत जाने, आउनेको संख्या बढेपछी भिड हुने गरेको हो । कोरोना भाईरसका कारण नेपाल सरकारले कार्तिक ३० गते सम्म नेपाल भारत सिमा नाका बन्द गर्ने निर्णय गरेको छ तर भारतीय सिमा नाका खुल्ला हुँदा त्यसको असर नेपालमा समेत परिरहेको छ । भारतीय सिमा नाकाबाट निर्वाध रुपमा आवागमन हुँदा त्यसले नेपालमा अनावश्यक भिड हुने गरेको छ ।
नेपाल भारत आवत जावत गर्नेको सिमानाका जमुनाहामा भिड नै हुन थालेपछि त्यसको ब्यवस्थापन गर्न सिमा प्रहरीलाई हम्मे परेको छ । भिडलाई ब्यवस्थापन गर्न ईलाका प्रहरी कार्यालय जमुनाहका प्रहरी नायब निरिक्षक बिष्णु गिरी आफै खटिदै आएका छन् । सोमबार दिउसो साढे १२ बजे सिमा नाकामा असल शासन डटकम पुग्दा इलाका प्रहरी कार्यालय जमुनाहका इन्चार्ज विष्णु गिरी नेपालबाट भारत जानेहरुलाई लाईनमा ब्यवस्थित गरिरहेका थिए । आवश्यकता भन्दा कम जनशक्ति रहेको जमुनाहमा तैनाथ प्रहरी जवानहरु दिनभरी भिडलाई ब्यवस्थित गर्ने काममा लागि पर्छन् । भिड कै बिचमा रहेका ईन्चार्ज गिरीले अत्यावश्यक बाहेकका ब्यक्तिहरु समेत भारत जान सिमा नाका पुग्ने गरेका कारण अनावश्यक भिड बढ्ने गरेको बताए । उनले सिमा नाका कार्तिक ३० गते सम्म बन्द रहेका कारण अत्यावश्यक बाहेक भारत नजान आम सर्वसाधारणलाई अपिल गरेका छन् । अत्यावश्यक काम विना नै सिमा नाका पुग्नेहरुका कारण अत्यावश्यक कामका लागि जानेहरुले घण्टौं सम्म लाईनमा बस्नु पर्ने र दुःख सहनुपरेको उनको भनाई छ ।
अहिले नेपालले नागरिकता देखाएर नेपालीलाई नेपाल आउन दिने र भारतीयलाई आधार कार्ड देखाएर भारत जान दिने व्यवस्था मिलाएको छ भने औषधि उपचार, अन्तिम संस्कार र विवाह लगायतका अत्यावश्यक काममा लागि मात्रै दुवै देशका नागरिकलाई आवागमन गर्न दिएको छ। सिमा नाकामा आवत जावत गर्ने ब्यक्तिको ब्यवस्थापन गर्ने तथा गुनासो समाधानका लागि जिल्ला प्रशासन कार्यालय बाँकेको सहकार्यमा बासले जमुनाह नाकामा नागरिक सहायता कक्ष (हेल्प डेस्क) सञ्चालन गर्दै आएको छ ।

भिड ब्यवस्थापनमा खटिएका ईलाका प्रहरी कार्यालय जमुनाहका प्रहरी नायब निरिक्षक बिष्णु गिरी ।

  • १७ कार्तिक २०७७, सोमबार प्रकाशित

  • Nabintech