चिसापानीमा घर पुस्तकालय

१ महिना नपुग्दै उनले २ सय बढि पुस्तकहरु संकलन

एल.बि. घर्ती

 बाँके/बाँकेको ग्रामिण भेग बैजनाथमा घर पुस्तकालय स्थापना गरिएको छ ।

बैजनाथ गाउँपालिका वडा नम्वर १ चिसापानीका गणेश बिष्टले घरमै पुस्तकालय स्थापना गरेका हुन् ।

बिद्यालयमा अध्यन गरिने पुस्तकका पाठहरु मात्र जीवन उपयोगी नहुने हुनाले युवा पिढींलाई बाह्य कुराहरुको पनि ज्ञान प्राप्त होस् भन्ने उद्धेश्यले घरमै पुस्तकालय स्थापना गरेको बिष्ट बताउँछन् ।

बिभिन्न पुस्तकहरु पढ्ने रुची हुनुका साथै पुस्तकबनटै प्राप्त ज्ञानका माध्यमबाट आफुमा आएको परिवर्तनबाट प्रेरित भएर यो कार्य उनले गरेका हुन् ।

आफुसंग भएका केही पुस्तक र साथीहरुले सहयोग गरेका पुस्तकहरु संकलन गरि उनले पुस्तकालय शुरु गरेका छन् । पुस्तकालय स्थापना गरेको १ महिना नपुग्दै उनले २ सय बढि पुस्तकहरु संकलन गरेर पुस्तकालयमा राखिसकेका छन् ।

बाँकेको बैजनाथ वडानम्वर १ चिसापानी स्थित घरमा रहेको उक्त पुस्तकालयबाट स्थानीयहरुले आफुले चाहेको पुस्तक अध्ययन गर्नका लागि लैजान सक्दछन् । जसका लागि पुस्तक अध्ययन गर्नेहरुले दैनिक २ रुपैया बिष्टलाई बुझाउनु पर्ने हुन्छ । पुस्तक पढ्ने बानी बसोस् र आफ्नो पनि केही लगानी भएको महसुस होस् भन्ने हेतुले न्यूनतम शुल्क राखिएको उनी बताउँछन् । उनले अपाङ्गगता भएका र अति विपन्न परिवारका व्यक्तिहरुलाई भने निःशुल्कनै पुस्तक अध्ययन गर्न दिने व्यवस्था मिलाएका छन् ।

स्थानीय युवाहरु सकारात्मक कार्य भन्दा नकारात्मक कार्यमा लागेको देखिरहेका उनी पुस्तकको लतबाट अन्य गलत लतहरु छुटोस् भन्ने चाहना राख्दछन् ।

पुस्तकालय स्थापना गरेको छोटो समयमा पुस्तक लिन आउनेहरुको संख्या बढिरहेको छ । हाल सम्म ३० बढिले पुस्तक लगिसकेका छन् ।
घर पुस्तकालयका बारेमा बिष्ट समाजिक संजालका साथै र गाउँ गाउँमा गएर प्रचार प्रसार गर्दै हिडिरहेका छन् । प्रचार, प्रसारमा बिकास शाही, उपेन्द्र शाही, शैलेन्द्र कार्की र अनिल थापा मगरले सहयोग गरिरहेका छन् ।

घर पुस्तकालयका लागि सहयोग जुट्ने क्रम जारी छ । नेपालगन्ज १८ निवासी शोभा थापा मगरले हालै जन्म दिनको अवसरमा केही पुस्तकहरु सहयोग गरेको जानकारी गराउँदै बिष्टले पुस्तकहरु सहयोगका लागि सार्वजनिक रुपमा आह्वान गरेका छन् ।

 

  • २१ कार्तिक २०७७, शुक्रबार प्रकाशित

  • Nabintech