मेरो संस्कार धितोमा राखेको दिन

भावना शर्मा

कविता : मेरो संस्कार धितोमा राखेको दिन

मेरो कर्म दिने सासू र ससुरा,
म तपाईहरुको खुट्टा ढोक्दिन
मेरो श्रीमान ज्यु,
म तपाईको पनि पाउको धुलो शिरमा चढाउदिन
किनकि,
मेरो बाआमाले घरखेत धितोमा राखे सङ्गै
मेरो संस्कार त बन्दकिमा छ !

भैगो छोड्दिनुस,
आज कुन संस्कार खोज्दै हुनुहुन्छ तपाईहरु ?
मेरो भगवानरुपी बुवाआमाको नामलाइ जोडेर
कस्तो संस्कार सिकाएछ्न …
भन्न, लाज लाग्नुपर्नी तपाईहरुलाइ
के तपाईहरु मेरो हात माग्न जाँदा
मेरो संस्कार र योग्यता हेरेर
जानुभएको थियो र ?

अँह, त्यो त खोज्नुभएको थिएन त
तपाईहरुले त
दाइजो सङ्ग पो सम्झौता गर्नुभएको थियो
बिर्सिनु भयो र त्यो दिन ?

संस्कारी बुहारी खोज्नुको सट्टा
श्रीसम्पती सहित कि खोज्नुभएको
मेरा वृद्ध बा र आमाले
खाइ नखाई कमाएको सम्पती ल्यानुभयो
अब सकियो
छैन म सङ्ग संस्कार

त्यसकारण मेरा सासू, ससुरा अनि साहेव
यत्ती कुरा सम्झिदिनुहोला
मैले त्यही दिन मेरो संस्कार धितोमा राखेकी हुँ
जुनदिन तपाईहरुले
मेरो हात माग्नु भन्दा पहिले नै
मेरा ७० वर्ष नजिक पुगेका
साझ बिहान छाक टार्न नै धौधौ पर्ने
वृद्ध बा आमा सङ्ग
दाइजोका नाममा
घर, गाडी र पैसा माग्नुभएको थियो ।

  • २७ कार्तिक २०७७, बिहीबार प्रकाशित

  • Nabintech