कार्यक्रमलाई थप प्रभावकारी बनाइने

असल शासन प्रतिनिधि

 

बाँके/सुरक्षित आप्रवासन (सामी) परियोजनाको स्थानीय तह परियोजना व्यवस्थापन समितिको बैठक सम्पन्न भएको छ । परियोजना अन्तर्गत भएका कार्यक्रमको समीक्षा गर्ने र आगामी कार्ययोजनाको विषयमा छलफल गर्ने उद्देश्यले सम्पन्न भएको बैठकले विभिन्न निर्णयहरु गरेको छ ।
नेपाल सरकार र स्वीस सरकारको दुई पक्षीय सम्झौता अनुसार हेल्भेटास नेपालको प्राविधिक सहयोगमा वातावरण तथा ग्रामीण विकास केन्द्र (इन्रुडेक) द्वारा बाँकेको नेपालगन्ज उप—महानगरपालिका, कोहलपुर नगरपालिका, बैजनाथ गाउँपालिका र खजुरा गाउँपालिकामा सो सामी परियोजना सञ्चालित छ । परियोजना सञ्चालित सबै स्थानीय तहका प्रमुखहरुको उपस्थितिमा भएको बैठकमा परियोजनालाई थप प्रभावकारी बनाउन समन्वय र सहकार्यमा बिस्तार गर्नुका साथै अनुगमन र मूल्याङ्कनको कार्यलाई बढावा दिने निर्णय गरेको छ ।
त्यसैगरी कार्यक्रम सञ्चालन गर्न आर्थिक वर्ष ०७७/७८ का लागि स्थानीय तहगत रूपमा गरिएको सम्झौता नवीकरणलाई अनुमोदन गर्ने, परियोजनाका कार्यक्रम संयोजक, प्रशासन तथा लेखा अधिकृतसहितका जनशक्तिहरुले स्वास्थ्यको कारण देखाई दिएको राजीनामा स्वीकृत गरी निजको ठाउँमा अन्य कर्मचारी नियुक्त गरिएको विषयलाई अनुमोदन गर्ने, वैदेशिक रोजगारीमा जाने सम्भावित आप्रवासी कामदारलाई लक्षित गरी काठमाडौं केन्द्रित सञ्चालन भइरहेको तालिम लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूपश्चिम प्रदेशको लागि बाँके जिल्लाको नेपालगन्ज पायक पर्ने भएकोले सो बमोजिम सञ्चालनका लागि सामी परियोजना सहयोग इकाई काठमाडौंमा सिफारिससहित अनुरोध गर्ने, जिल्ला प्रशासन कार्यालय बाँकेमा स्थापना भएको आप्रवासी स्रोत केन्द्र र इलाका प्रशासन कार्यालय कोहलपुरमा स्थापना भएकोे उपकेन्द्रबाट सेवाप्रवाहमा सेवाग्राहीको पहुँचमा नभएको महसुस भएकोले सेवामा पहूँच अभिवृद्धिका लागि उपयुक्त स्थानको व्यवस्थापन गर्न सम्बन्धित निकायमा अनुरोध गर्ने, नेपालगन्ज उप–महानगरपालिका कार्यालय परिसरमा सामी परियोजना अन्तर्गत सेवाप्रवाह गरिने सेवाग्राहीलाई मनोसामाजिक परामर्श सेवा प्रदान गर्नका लागि उपयुक्त कोठाको व्यवस्थापन गर्न लगाउने, नयाँ आर्थिक वर्षको बजेट, कार्यक्रम तर्जुमा गर्नु पूर्व सामी परियोजना लागू भएका चारवटै स्थानीय तहसँग सामूहिक बैठकको आयोजना गरी उक्त परियोजनासँग सम्बन्धित कार्यक्रम र बजेटबारेमा छलफल गरी आवश्यक परामर्शका आधारमा आगामी आवमा बजेट कार्यक्रमको व्यवस्थापन गर्न लगाउनेलगायतका निर्णय बैठकले गरेको छ ।


कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाकी उपप्रमुख उमा थापा मगर, कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावत, खजुरा गाउँपालिकाका अध्यक्ष किस्मत कक्षपति, बैजनाथ गाउँपालिकाका अध्यक्ष मानबहादुर रुचाल, सबै पालिकाका सामाजिक विकास अधिकृतहरु, गैर सरकारी संस्था महासंघ नेपाल बाँके शाखाका अध्यक्ष नमस्कार शाह, असल शासन पोष्ट साप्ताहिकका प्रबन्ध सम्पादक मन भण्डारी, इन्रुडेकका अध्यक्ष धर्मलाल रोकायालगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा सामी परियोजना संयोजक मिना चौधरीले गत आव र चालू आवको प्रथम चौमासिकमा भएका क्रियाकलापको प्रगति, र यस वर्षको वार्षिक कार्यक्रमको प्रस्तुतीकरण गरेकी थिइन् ।

  • २७ कार्तिक २०७७, बिहीबार प्रकाशित

  • Nabintech