२० रुपैयाँमा खाना !

असल शासन प्रतिनिधि

नेपालगञ्ज/कोरोना कहरका कारण बिपन्न तथा मध्यम बर्गका व्यक्तिहरुलाई एक छाक खानाको जोहो गर्न समेत गाह्रो भईरहेको बेला नेपालगञ्जमा २० रुपैयाँमा खानाको व्यवस्था मिलाईएको छ ।

श्री सुन्दर काण्ड मित्र मण्डलले भेरी अस्पताल नेपालगञ्जमा सो व्यवस्था मिलाएको हो । नेपालगञ्ज उपमहानगरपालिकाको सहकार्यमा मित्र मण्डलले सर्बसाधारणहरुलाई २० रुपैयाँमा खाना खुवाउँदै आएको छ ।

विपन्न ब्यक्ति तथा अस्पतालमा उपचाररत विरामी र कुरुवालाई लक्षित गरी मित्र मण्डलले पूण्य कार्य गरेको भन्दै प्रशंसा भईरहेको छ ।
२० रुपैयाँमा पेटभरी खाना खुवाउँदै आएको उक्त मण्डललाई नेपालगञ्ज उपमहानगरपालिकाले शुक्रबार ५० हजार रकम हस्तान्तरण गरेको छ ।

मित्र मण्डलका संरक्षक समाजसेवी विजय गुप्तालाई उपमहानगर प्रमुख डा. धवलशम्शेर राणाले उक्त सहयोगको चेक हस्तान्तरण गरेका थिए । नेपालगञ्ज उपमहानगरपालिकाले २० रुपैयाँँमा खाना खुवाउने कार्यलाई निरन्तरता दिन मासिक ५० हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरे अनुसार शुक्रबार पहिलो पटक सहयोग हस्तान्तरण गरिएको बताईएको छ ।

अस्पताल परिसरमा शनिबार बाहेक हरेक दिन विहान १० देखि १ बजेसम्म खाना खुवाउने कार्य चलिरहेको छ । अन्य खर्च मित्र मण्डलले सहयोगीदाता लगायतबाट ब्यवस्थापन गर्दै आएको छ । २० रुपियाँमा दाल, भात, तरकारी र शुद्ध पिउने पानी उपलब्ध गराउने गरिएको छ ।

 

 

  • १ मंसिर २०७७, सोमबार प्रकाशित

  • Nabintech