डोल्पा प्रशासनले भन्यो,‘विद्यालय बन्द नगरे कारबाही गर्छौं’

असल शासन प्रतिनिधि

डोल्पा- गत चैतदेखि बन्द भएका डोल्पाका विद्यालय खुलेका छन्। कोरोना भाइरसको फैलँदो सङ्क्रमणका कारण बन्द भएका विद्यालय आठ महिनापछि खुलेका हुन्।जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका, मुड्केचुला र जगदुल्ला गाउँपालिकाले आफ्नो क्षेत्रका विद्यालय खुलाएका छन्। त्रिपुरासुन्दरी नगरपालिकाले कात्तिक १२ गतेदेखि खोल्ने गरी नगरपालिकाभित्र पर्ने ३२ वटै विद्यालयमा निर्देशन दिएको थियो। लामो समयदेखि विद्यार्थीको पठनपाठन ठप्प भएको बताउँदै नगर क्षेत्रका सम्पूर्ण विद्यालय खोल्न लिखित पत्राचार गरेको नगरपालिकाले जनाएको छ। नगरको निर्देशनअनुसार दुई सातादेखि विद्यालय खुलाइएको वडा नं १ मा पर्ने त्रिपुरा माविका प्रधानाध्यापक रमानन्द उपाध्यायले बताए। सात–आठ महिनासम्म क्वारेन्टिन चलाइएको यस विद्यालय सामान्य सरसफाइ गरेर सञ्चालनमा ल्याइएको उपाध्यायको भनाइ छ।

अर्को ठूलिभेरी नगरपालिकाले भने अझै विद्यालय खुलाएको छैन। प्रशासनले खुलेका विद्यालयलाई बन्द ताकेता गर्न थालेपछि ठूलीभेरीका कुनै पनि विद्यालय नखुलाइएको नगरपालिकाले जनाएको छ। तल्लो डोल्पामा पर्ने जगदुल्ला र मुड्केचुला गाउँपालिकामा पनि विद्यालय खुलेका छन्।  दुवै स्थानीय तहले दसैंबिदाका लागि बन्द भएका विद्यालय खुला गरेर निरन्तर रुपमा पठनपाठन क्रियाकलाप सञ्चालनमा ल्याएका हुन्। उक्त स्थानीय तहले लकडाउन अवधिभर पनि निरन्तर विद्यालय सञ्चालन गरेका थिए। नजिकिँदै गरेको वार्षिक परीक्षा सम्पन्न गरेर विद्यालय बन्द गर्ने दुवै स्थानीय तहको तयारी छ।

त्यसैगरी, उपल्लो डोल्पामा पर्ने डोल्पोबुद्ध, शे–फोक्सुण्डो र छार्काताङ्सोङ् गाउँपालिकाले पनि लकडाउनमा पनि विद्यालय बन्द गरेनन्। अहिले पनि तीन वटै स्थानीय तहले पठनपाठन सञ्चालन गरी धमाधम वार्षिक परीक्षा लिइरहेका छन् । अब छिट्टै नतिजा प्रकाशन गरेर विद्यालय बन्द गर्ने तीनै स्थानीय तहको तयारी छ। उपल्लो डोल्पामा छ महिनामात्र पढाइ हुने भएकाले वैशाखमा खुलेका विद्यालय खुल्ने कात्तिक अन्तिम सातासम्मै बन्द हुने गर्दछन्। काइके गाउँपालिकाले लकडाउन बीचमा विद्यालय खोले पनि प्रशासनले बन्द गर्न निर्देशन दिएपछि बीचमै पठनपाठन रोकेको थियो ।

प्रशासनद्वारा विद्यालय बन्द गर्न निर्देशन

डोल्पाका स्थानीय तहले सरकारको निर्देशन विपरीत विद्यालय खुलाएका छन्। कोरोना कहरमा देशैभरका विद्यालय खुलाउन सरकारको निर्देशन नभए पनि स्थानीय तहले आफू खुसी विद्यालय चलाएको प्रशासनको भनाइ छ। जिल्ला प्रशासन कार्यालयले विद्यालयमा हुने जमघटका कारण कोरोना सङ्क्रमण फैलन सक्ने भन्दै जिल्लाका स्थानीय तहलाई विद्यालय नखोल्न पटक–पटक मौखिक निर्देशन दिएको छ। निर्देशनलाई बेवास्ता गर्दै जिल्लाका त्रिपुरासुन्दरी, ठूलीभेरी नगरपालिका, जगदुल्ला र मुड्केचुला गाउँपालिकाले विद्यालय खुलाएको प्रशासनले जनाएको छ। कोरोनाको महामारीबाट जिल्लालाई सुरक्षित राख्नु स्थानीय प्रशासन, स्थानीय सरकारलगायत सम्पूर्ण सरोकारवालाको कर्तव्य भएको प्रजिअ सुरेश सुनारले बताए। “विद्यालय खोल्न सङ्घीय सरकारको निर्देशन छैन, हाम्रो मौखिक निर्देशन स्थानीय तहले अवज्ञा गरे, अब लिखित निर्देशन नै दिन्छौं, यतिगरी अटेर गरे भने कारबाही गर्छौं”, प्रजिअ सुनारले भने। रासस

  • ४ मंसिर २०७७, बिहीबार प्रकाशित

  • Nabintech