कहाँ छ सरकार ?

नेताले आदेश दिनै नपरोस् न, जुन बखत जे गर्नु पर्ने हो, त्यसका लागि हरदम कर्मचारीतन्त्र रेडी टू मूभको अवस्थामा रहनु पर्छ । मुलुकको बागडोर यथार्थमा कर्मचारीतन्त्रको काँधमा छ । जसको कारण ती मौकामा कामयाबी ठहर्नु पर्छ ।

किरण कार्की

आदीः
सामान्य भाषामा भन्दा ‘सरकार’ भनेको देश र जनताको हित सर्वोपरी हुने गरी राज्यको दैनिक कार्य सञ्चालन गर्न जनताद्वारा चुनिएका प्रतिनिधिहरू रहने निकाय हो । यसको प्रमुख काम नै देश र जनता को हितमा केन्द्रित हुनु हो । त्यो भन्दा एक इन्च दायाँ–बायाँ गर्नु भनेको नैतिक रूपमा पतन हुनु हो, जनमतको अपमान गर्नु हो ।
राज्य सञ्चालनका धेरै पाटा छन्, काम र जिम्मेवारी पनि धेरै छन् यो सत्य हो । यसका बावजुद केही यस्ता काम र जिम्मेवारी छन् जसले समग्रमा सरकार कहाँ छ ? र कति पानीमा छ ? प्रस्ट देखाइ दिन्छ । जसको चर्चा बुँदागत रूपमा निम्नानुसार गर्ने प्रयत्न रहनेछ ।
क) राज्यको सार्वभौमिकता र भौगोलिक अखण्डताः सरकारको पहिलो प्राथमिकतामा पर्ने जिम्मेवारी हो राज्यको सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षा गर्नु । यसमा असफल रहे सरकार भए/नभएको अर्थ रहँदैन । यो सरकारको उपस्थिति जाँच्ने र उपलब्धि नाप्ने सर्वोत्तम कसी हो । देशको अस्मिताको रक्षा गर्न आवश्यक कदम उठाउने काम सरकारको हो ।
दुर्भाग्यवश !
आज मेरो देशको सीमा मिचिएको छ, सारा नेपालीलाई थाहा छ हामी थिचिएका छौं, हामी मिचिएका पनि छौं । सरकार हेरिरहेको छ, बरु जनता जाग्यो विरोधका स्वरहरू व्यापक हुँदै गए अन्ततः सरकारले नयाँ नक्सा जारी गरेर आफ्नो उपस्थिति देखाउँछ । के त्यही नै प्रभावकारी र निर्विकल्प कदम थियो ? यो कदमबाट हाम्रो भूमि फिर्ता हुन्छ ? यतिमै सरकारको जिम्मेवारी सकिन्छ ? नेपाली भूमिमा रहेको विदेशीको सैन्य अखाडा हटाउनु पर्दैन ?
एक–एक इन्चको अतिक्रमण, नेपाल आमाको अस्मिता लुटिनु हो ।
ख) आन्तरिक शान्ति सुरक्षाः सरकार को अर्को महत्वपूर्ण र प्राथमिक काम भनेको देशभित्र शान्ति सुरक्षा कायम राखेर जनता जनार्दनलाई सुरक्षित महसुस गराउन सक्नु हो । यसको अनुभूतिले तय गर्छ कि देशमा कुन स्तरको सरकार छ !
विडम्बना !
चेलीहरूको अस्मिता लुटिएकै छ, एसिड आक्रमण भएकै छ, अझ लाजमर्दो कुरा कैयौंले न्याय पाएका छैनन् । निर्मला त प्रतिनिधि पात्र हुन् । हत्या हिंसाका खबर हरेक दिन सुन्न/हेर्न पाइन्छ, कतिपय घटनाहरू त कमजोर प्रशासन र व्यवस्थापनका कारण घटित भएका देखिन्छन् । यहाँ जनताको के कुरा ? जनप्रतिनिधि र सुरक्षाकर्मी त सुरक्षित छैनन् । सटिक शब्दमा भन्नु पर्दा यो देशमा अराजकता व्याप्त छ । यत्तिको सामान्य र प्राथमिक कुरा व्यवस्थित नहुनुमा कमजोर, अशक्त र इच्छाशक्ति नभएको नेतृत्व दोषी छ । इतिहासकै मजबुत सरकारको यो हविगत हुनुमा सक्रिय भूमिका खेल्ने र यस्तो हुन नदिन केही भूमिका निर्वाह नगर्नेलाई इतिहासको जिम्मा लगाऔं ।
ग) गाँस, बास र कपास को प्रबन्धः सरकारको अर्को महत्वपूर्ण काम आफ्ना जनतालाई खाने गाँस, बस्ने बास र लगाउने लुगाको न्यूनतम उपलब्धता सुनिश्चित गर्नु हो । यो हरेक नागरिकको अधिकार हो । यस्ता प्राथमिक कुरा पनि पूरा भएका छैनन् भने बुझ्नुस् त्यहाँ सरकार छैन ।
अर्को विडम्बना !
हाम्रो देशमा आज पनि हजारौंको चुलो बल्दैन, मागेर वा अन्य निकृष्ट कामबापत छाँक टार्ने गर्छन । आफ्नो घर र सफा, राम्रो कपडा त दिवास्वप्न नै हुन् । दूरदर्शी सोच र दीर्घकालीन योजनाले सहजै व्यवस्थित गर्न सकिने यस्ता काम किन सुरु हुँदैनन् ?
घ) शिक्षा–स्वास्थ्य–रोजगारः माथि उल्लेखित आधारभूत ३ कामपछि सरकारले आफ्ना नागरिकलाई देखिने र महसुस हुने गरी शिक्षा, स्वास्थ्य र रोजगारको प्रत्याभूति दिन सक्नु पर्छ । पढ्न पाउनु मानव जातिको नैसर्गिक अधिकार हो, सरकारले सबै तहको पठन–पाठन निःशुल्क गर्नु पर्छ । संसारका धेरै देशमा शिक्षा निःशुल्क छ । शिक्षाको गुणस्तर समय–सापेक्ष सुधार हुनु पर्छ । निजी र सरकारी दुवैको पाठ्यक्रम र शैक्षिक गुणस्तर एउटै हुनु पर्छ ।
शिक्षा जस्तै अर्को अपरिहार्य क्षेत्र स्वास्थ्य हो । कतिपय समृद्ध देशका नागरिक विश्व स्तरीय स्वास्थ्य सेवा उपभोग गर्छन् त्यो पनि निःशुल्क वा बिमाको खर्चमा वा अति न्यून खर्चमा ! रोगका कारण अकाल मृत्‍युवरण गर्नु पर्दैन । हरेक नागरिकहरू स्वास्थ्य बिमाबाट सुरक्षित हुन्छन् । औषत आयु उच्च हुन्छ ।
तर !
हाम्रो देशमा माथि भने जस्तो केही पनि छैन । कति बिरामीले अस्पतालको मुख देख्नै पाउदैनन् । हरेक वर्ष कैयौं गर्भवती महिला उचित प्रसूति सेवा अभावमा ज्यान गुमाउछन् । जन्म पाउने भाग्यमानी मध्य हजारौं बालबालिकाले उचित स्याहार पाउँदैनन् र कुपोषित हुन्छन् । खोप त दान–दातव्यबाट दिइन्छ, म्याद गुज्रेका खोपले ज्यानसम्म लिने गरेको खबर सुन्ने बानी छ हामीलाई !
यस्तोमा हरेक नागरिकलाई स्वास्थ्य बिमा त आकाशको फल त होला ?
सबै क्षेत्रको बदहाल छ, यस्तोमा रोजगारीको क्षेत्र कसरी अछुतो रहन्थ्यो ? म त भन्छु कुनै एउटा क्षेत्रमा ठूलो वेथिति छ – त्यो रोजगारी हो । सरकारसँग न नीति छ न त कुनै प्रभावकारी योजना ! भएका कैयौं उद्योग बन्द भए, कति बेचिए, कति बन्द गराइए । सरकारका कारण देश कतैबाट पनि उद्योगमैत्री देखिँदैन । यहाँ उद्योगीलाई कतै श्रमिकको शोषण गर्ने शोषकको रूपमा त कतै कर चोरी गर्ने चोरको रूपमा व्याख्या गरिन्छ । देशभित्र वातावरण नभएपछि आफ्ना न्युनतम आवश्यकता पूरा गर्न विदेशिनुको नेपाली युवासँग विकल्प पनि छैन ।
अनि लाखौं युवाहरू आफ्नै स्तरबाट विदेश भासिएका छन्, गाँस–बास–कपासको जोहो गर्न, त्यसबाट आफ्नो र देश दुवैको उत्थान गरिरहेछन् ।
निर्लज्ज !
सरकारको लाज छोप्दै छन्, देश र दुनियाँका अगाडि इज्जत राखिदिएका छन् । रेमिटान्समा आउने रूपैयाँले अर्थतन्त्र चलायमान छ र लाखौं परिवारमा खुसीयाली छ । तिनै विदेशिएका जनशक्तिलाई देशभित्रै रोजगारी दिन सके मात्र पनि कति हुन्थ्यो ? स्वदेशी श्रमको सम्मानका साथै वैदेशिक रोजगारले निम्त्याएको केही विकृतिको पनि अन्त्य हुन्थ्यो । गर्व साथ देशमै काम गर्थे, देश विकासमा योगदान दिन्थे ।
अफसोच ! यतिका खोज्ने–माग्ने जनता भएनन्, जनताले नखोजे–नमागे पनि दिनु पर्छ भन्ने सोचको नेतृत्व भएन !
हाम्रो !
सरकारले के के गरेको छ? कति गरेको छ ? जगजाहेर छ । नाकाबन्दीको पृष्ठभूमिमा ऐतिहासिक सङ्ख्या बलको सरकार त बन्यो ! तर दीर्घरोगी प्रधानमन्त्रीलाई स्वास्थ्यले साथ दिएकै छैन । सायद अहिले त पार्टीले पनि भरपुर साथ दिएको छैन । सरकार र पार्टी बीच नै दिनहुँ किचलो छ यस्तोमा कुन मानसिकताले काम गर्ने ?
सरकार !
सीमा मिचिँदा जोडदार रूपमा प्रस्तुत हुन सकेन, नक्सा जारी गरी आधा अधूरो जिम्मेवारी निभायो । अतिक्रमित भूमि वास्तवमा हो कि नक्सामा मात्रै चाहिएको हो ? त्यसको प्रभावकारी पहल खोइ ?
सरकार !
आन्तरिक शान्ति सुरक्षामा त्यति प्रभावी देखिएको छैन । त्यसो हुन्थ्यो भने निर्मलाले न्याय उहिल्लै पाउथिन । सेवामा खटिएका प्रहरीले नै कुटाइ खानु पर्ने थिएन ।
सरकार !
अति विपन्नहरूको साथ भएको पनि देखिएन, उनीहरू लक्षित कुनै योजना मलाई याद छैन । उनीहरूलाई सधैं दिनु भन्दा गरी खाने व्यवस्था मिलाइ दिनु पर्ने हो । सरकारी स्तरबाट सुलभ आवास हुनु पर्ने हो ।
सरकार !
शिक्षा–स्वास्थ्य–रोजगार को क्षेत्रमा पनि कतै देखिएन । निजी र सरकारी शिक्षाबीच ठूलो खाडल छ । शिक्षामा अभिभावकले धेरै खर्चिनु परेको छ जब कि शिक्षा निःशुल्क हुनु पर्ने हो ।
स्वास्थ्य क्षेत्र झन खत्तम छ दुर्गम जिल्लाहरूमा समय मै उपचार नपाएर धेरैको मृत्‍यु हुन्छ । स्वास्थ्य बिमा अविलम्ब लागु हुनु पर्छ । यो सरकारको दायित्व हो यसबाट भाग्न मिल्दैन । नयाँ रोजगार नीति ल्याएर विदेशिएकालाई स्वदेश मै राख्न सक्नु पर्छ । उद्योगलाई बढावा दिने योजना ल्याउनु पर्ने हुन्छ । उद्योगधन्दा बढे नै रोजगारीमा वृद्धि हुने हो ।
अन्तः
अहिले कोरोनाको विश्वव्यापी मारबाट हामी पनि बच्न सकेनौं । स्वाभाविक पनि हो, महाशक्तिहरू त जुझिरहेका छन् । यस्तो महामारीका बेला पनि सरकार त्यति प्रभावकारी देखिएन । सारा गल्ती, कमजोरीमा सर्लक्कै माफी दिन्थे जनताले ! यो बेला सबै काम कुरा न्यायोचित ढङ्गले गरेको भए तर त्यो पनि हुन सकेन ।
गर्ने नियत नै नभए नियति कसरी बदलियोस् ?
दुःखद !
कुरा त अझ के छ भने हामी नेपाली सही र गलत भन्दा पनि आफ्नो पार्टीले गरेको हो भने गलत पनि सही नै हो भन्नेमा पुग्छौं । यहाँ यस्तै परिपाटी विकसित भएको छ जुन एकदमै गलत हो । यसले कसैलाई राम्रो गर्दैन ।
हामी धेरै भावुक पनि छौँ सजिलै बहकिन्छौं । कतिपटक बहकिएर गलतको साथ दिइसकेका छौँ । त्यो विगत थियो अब त्यो गल्ती नदोहोरियोस् । समृद्ध नेपाल निर्माण केवल नेता र दलको भरमा हुन्न यसमा हामी नागरिकको पनि रचनात्मक भूमिका हुन्छ । आफ्नो भूमिका आफैंले खोजौं अहिलेसम्म बिग्रेको नेतामुखी भएर हो ।
टोल, बस्ती, गाउँ, सहर अनि देशैभर आआफ्नो स्थानबाट सबैले आफ्नो भूमिका रचनात्मक तरिकाले इमानदार भएर निभाऔं । परिवर्तनको संवाहक बनी नेपाल आमाको मुहारमा खुसी ल्याउन पहल गरौँ ।
नेता !
बिनाको समाजको परिकल्पना गरौँ, सामूहिक नेतृत्वको बारेमा सोच्न सुरु गरौँ । सहअस्तित्व स्वीकार गर्न सिकौं, एकअर्काको सम्मान गर्न पछि नपरौं ।
माथि चर्चा गरिएका सरकारबाट राज्य र जनताका निम्ति गर्नै पर्ने र आफ्नो प्रभावकारी उपस्थिति देखाउनु पर्ने मूलभूत कुराहरूमा हाम्रो सरकारलाई मैले कतै पनि देखेन÷भेटेन साँच्चै सरकार नभएको हो कि? मैले नदेखेको हो ? कृपया देख्ने/भेट्नेले भनी दिनु होला, ‘ कहाँ छ सरकार ?’

  • ५ मंसिर २०७७, शुक्रबार प्रकाशित

  • Nabintech