कोरोना बिरुद्धको लडाईमा सबैको साथ र सहयोग पाएका छौं – श्रेष्ठ

असल शासन प्रतिनिधि

नेपालगन्ज । सबैको सामुहिक प्रयासले बाँकेमा कोरोना बिरुद्धको लडाई सहज बन्दै गएको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताएका छन् ।
बासको युवा लक्षित कार्यक्रम इन्स्पाइरिङ्ग युथको आज सम्पन्न १९७औं श्रखलामा उत्प्रेरणात्मक प्रवचन दिएका श्रेष्ठले कोरोना बिरुद्धको अभियानमा जिल्ला स्थित सबै क्षेत्रको साथ र सहयोग पाएको बताएका हुन् । बाँकेमा कोरोनाको अवस्था, उपलब्धी, सरकारी तहबाट सञ्चालीत कार्यक्रम तथा काम गर्दाको अनुभवका बारेमा उनले युवाहरुलाई जानकारी गराएका थिए । पहिले कोरोना सक्रमीत प्रति सामाजिक रुपमानै तिरस्कार गर्ने गरिएको भएपनि अहिले आम नागरिकमा आएको चेतनाका कारण सोच परिवर्तन भएको उनले बताए । बाँकेमा कोरोना बिरुद्धको ब्यवस्थापन राम्रो भएको बताउदै हाल बर्दिया, दांग, कैलाली लगायत बाहिरी जिल्लाबाट समेत बिरामीहरु आउने गरेको उनको भनाई थियो । हाल अधिकांस ब्यत्तिहरुको पिसिआर परिक्षण बाँकेमा निशुल्क भईरहेको उनको भनाई थियो ।
पछिल्लो समय कोरोनालाई सामान्य रुपमा लिने गरेको भएपनि सामाजिक रुपमा सजग र सचेत हुनुपर्नेमा उनको जोड थियो । युवाहरुले समुदाय स्तरमा चेतना फैलाउन अनुरोध गर्दै कोरोना पोजेटिभ भएका ब्यक्तिहरु निर्धक्क रुपमा बाहिर घुमिरहेको देखिने गरेकाले त्यसलाई रोक्न समुदाय स्तरका हरेक ब्यक्तिले जिल्मेवारी बहन गरिदिन उनको आग्रह थियो । कोरोनाका बिषयमा कुनै पनि गुनासो वा समस्या भएमा जुनसुकै बेला पनि सम्पर्क गर्न उनले युवाहरुलाई अनुरोध गरे । बाँकेका कोरोना बिरुद्धको अभियानमा सहयोग र सहकार्य गर्ने सबैप्रति फोकल पर्सन श्रेष्ठले आभार ब्यक्त गरेका थिए ।
एक घण्टा सम्म चलेको कार्यक्रमको सञ्चालन बासका हेल्पडेस्क संयोजक रबिन्द्र बोहराले गरेका थिए भने कार्यक्रममा धन्यबाद ज्ञापन सहित कार्यक्रमको समापन बासका केन्द्रीय अध्यक्ष रमेश सिटौलाले गरेका थिए ।

 

  • ५ मंसिर २०७७, शुक्रबार प्रकाशित

  • Nabintech