प्रहरी हिरासत भित्रै आत्महत्या !

बाबुलाल रैदास हिरासतसँगै रहेको शौचालयमा मृत फेला

असल शासन प्रतिनिधि

नेपालगन्ज/जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासतमा एक जना मृत फेला परेका छन् ।

बाँकेको डुडुवा गाउँपालिका वडानम्वर ३ वनकट्टीका बाबुलाल रैदास शुक्रबार बिहान जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासतसँगै रहेको शौचालयमा मृत फेला परेका हुन् ।

प्रहरीले झुन्डिएको अवस्थामा उनलाई फेला पारेको बताएको छ ।

बिहान साढे ५ बजे शौच गर्न शौचालय गएका उनी लामो समय शौचालयबाट नफर्केपछि हिरासतमा रहेका अन्य व्यक्तिहरुले प्रहरीलाई खवर गरेको, प्रहरीले शौचालय खोलेर हेर्दा उनी शौचालय माथि रहेको झ्यालमा आफ्नै टाउकोमा बाँधेको कपडाको पासो लगाएर आत्महत्या गरेको अवस्थामा भेटिएको बाँके प्रहरी प्रमुख प्रहरी उपरिक्षक ओम बहादुर रानाले बताए ।

घटना घटेको थाहा पाएपछि प्रहरीले बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाँग लगायत, सम्वन्धित वडाका प्रतिनिधि, मानव अधिकारवादीहरुलाई बोलाएर घटनाको अवस्था बारे जानकारी गराई पोष्टमार्टम गराएर परिवारलाई बुझाएको बताएको छ । परिवारका सदस्यहरुले प्रहरी हिरासत भित्रै भएको भनिएको आत्महत्यालाई रहस्यमय भएको प्रतिकृया दिएका छन् ।

दशैंकै दिन १२ बर्षिय बालक सुनिल हरिजनको हत्या अभियोगमा तीन हप्ता अघि प्रहरीले रैदासलाई पक्राउ गरि हिरासतमा राखेको थियो ।
उनलाई प्रहरीले कर्तव्य ज्यान र अभद्र व्यवहारको मुद्दा चलाएको थियो ।

 

  • ६ मंसिर २०७७, शनिबार प्रकाशित

  • Nabintech