सात कार्यालयका १७ कर्मचारी ‘मनपरी’ बिदामा

अधिकांश कार्यालय 'भद्रगोल'

सर्जना कार्की

रुकुम (पूर्व) । न त बिदा स्विकृत, न कार्यालयलाई जानकारी । रुकुम पूर्वको अस्थायी सदरमुकाम रुकुमकोटमा रहेका सात ओटा सरकारी कार्यालयका १७ जना कर्मचारी सोमबार कार्यालयमा भेटिएनन् । जिल्ला प्रशासन कार्यालय रुकुम पूर्वले रुकुमकोटमा रहेका ती सरकारी कार्यालयमा गरेको अनुगमनको क्रममा उक्त तथ्य फेला परेको हो ।

सेवाप्रवाह जनमुखि र भरपर्दो बनाउने उद्देश्यले गरिएको छड्के अनुगमनको क्रममा कार्यालयमा कर्मचारीको अनुपस्थिति देखिएको हो । सेवा प्रवाहको अवस्था, कर्मचारीको अनुशासन र मर्यादा जाँच गर्न कार्यालयमा निरीक्षण गरिएको प्रमुख जिल्ला अधिकारी राजकुमार राईले बताए । ‘अनुगमनको क्रममा सात वटा कार्यालयका १७ जना कर्मचारी विदा स्वीकृति नगरी कार्यालयमा अनुपस्थित रहेको पाईयो,’ प्रजिअ राईले भने, ‘पाँच जना कार्यालय प्रमुखले जिल्ला प्रशासनमा अनुमति लिएका थिए भने १२ जना कर्मचारी कार्यालयमा बिदा स्वीकृति नलिइ अनुपस्थित भएको पाईयो ।’

अनुपस्थित कर्मचारीलाई मंगलबार नै स्पष्टीकरणको लागि पत्र पठाइने र स्पष्टीकरणमा लापरबाहि गरिएको पाइएमा विभागीय कारर्बाहीको लागि प्रक्रिया अगाडि बढाउने प्रमुख जिल्ला अधिकारी राईको भनाइ रहेको छ ।

अधिकांश कार्यालय ‘भद्रगोल’

अनुगमनको क्रममा निरीक्षण गरिएको अधिकांश कार्यालयका कर्मचारीहरू तोकिएको पोसाक नलगाएको, नागरिक वडापत्र व्यवस्थित रूपमा नराखिएको, कार्यालय परिसरमा सरसफाई नगरिएको, सहायता कक्ष, गुनासो पेटिका, नियमित सूचना सार्वजनिक नगरिएको, कार्य सम्पादनको अभिलेखीकरण नराखिएको, नव प्रवद्र्धनात्मक क्रियाकलाप नगरिएको पाएको छ । ‘पहिलो पटक सुझाव दिइएको छ,’ प्रजिअ राईले भने, ‘आगामी दिनहरूमा सेवामैत्री क्रियाकलापहरूमा ध्यान नगरिएको पाइएमा कसैलाई छुट दिईन छैन ।’

आज प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन इकाई कार्यालय, सडक पूर्वाधार विकास कार्यालय, स्वास्थ्य कार्यालय, डिभिजन वन कार्यालय, मालपोत कार्यालय, नापी कार्यालय र एकीकृत कृषि तथा पशुपंक्षी विकास कार्यालयमा अनुगमन गरिएको जिल्ला प्रशासन कार्यालय रुकुम पूर्वले जनाएको छ ।

जिल्ला स्थित सरकारी कार्यालयमा कर्मचारीको अनियमिताले सेवाग्राहीलाई सास्ती भइरहेको भन्ने जनगुनासो जिल्ला प्रशासनमा आए पश्चात छड्के अनुगमन गरिएको थियो ।

  • ८ मंसिर २०७७, सोमबार प्रकाशित

  • Nabintech