रुकुम पश्चिममा जन्ती बोकेको जीप दुर्घटना, चार जनाको ज्यान गयो

असल शासन प्रतिनिधि

रुकुम पश्चिम– रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा जन्ती बोकेको जिप दुर्घटना हुँदा ४ जनाको ज्यान गएको छ । शुक्रबार साँझ भएको उक्त दुर्घटनामा परी आठबीसकोट नगरपालिका–८, का अन्दाजी ५१ वर्षीय कलिभान नेपाली, सोही ठाउँका ४८ वर्षीय आईते चनारा, ५१ वर्षीय गोरे नेपाली र ६६ वर्षीय सार्के नेपालीको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटनामा वडा नं. ८ कै ५८ वर्षीय लालबहादुर नेपाली गम्भीर घाइते भएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले जानकारी दिए । नेपालीको शरीरका विभिन्न अंगमा चोट लागेको र बोल्न सक्ने अवस्थामा नरहेको उनले बताए । लालबहादुरलाई उपचारको लागि आठबीसकोट नगर अस्पताल लिइएको छ ।

आठबीसकोट नगरपालिका वडा नं. ८ को दाजेबाट १०/१२ जना जन्ती बोकेर वडा नं. १० को घारीखोला फर्किरहेको रा.१ ज ५८९ नम्बरको जिप दाजेमा दुर्घटना भएको हो । जीप चालक वडा नं. ९ का अन्दाजी २८ वर्षीय डिल्लीबहादुर नेपाली फरार रहेको र उनको खोजी भइरहेको बताइएको छ । जिप सडकबाट अन्दाजी १ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

  • १२ मंसिर २०७७, शुक्रबार प्रकाशित

  • Nabintech