‘लजालु पहाडहरु’ लिएर आए ढकाल

असल शासन प्रतिनिधि

नेपालगन्ज–साहित्यकार अमृत शर्मा ढकालले गीतकृति ‘लजालु पहाडहरु’ पाठक माझ ल्याएका छन् । नेपालगन्जमा एक कार्यक्रमका बीच नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव एवम् वरिष्ठ कथाकार सनत रेग्मी, वरिष्ठ सायर अब्दुल लतिफ शौक, प्राज्ञ सभा सदस्य हरिप्रसाद तिमिल्सेना, वरिष्ठ लोक गायक कमल विक निर्माेही, साहित्यकार भोजराज शर्मा ‘नादिर’ लगायतले संयुक्त रूपमा कृतिको शनिबार विमोचन गरेका छन् ।
करिब २ दशकदेखि गीत, कविता, गजल र समालोचना सृजनामा क्रियाशील ढकालको लजालु पहाडहरु पहिलो पुस्तकाकार कृति हो । पुस्तकमा ६७ वटा गीतहरु संग्रहित छन् । विमोचन कार्यक्रममा पुस्तकमाथि टिप्पणी गर्दै साहित्यकार नादिरले ढकालमा गोपाल योन्जन र गुल्जारको जत्तिकै स्तरीय गीतहरु लेख्ने क्षमता रहेको बताए । उनले भने, “ जसले जिन्दगीको लक्षित उचाइमा पुगेर पनि विश्रान्ति पाएको छैन, आनन्द पाएको छैन, जसलाई चौतारीमा बिसाएर मस्तसँग हावा चलोस्, पातहरु सुसाएको जस्तो कल्पनाको आनन्द जसले चाहेको छ, उसले यो किताब पढ्नु पर्छ ।” उनले कृतिमा रहेका केही गीतहरु पहिलो पढाइमा दुर्बाेध्य जस्तो लागे पनि तीनको वजन थाहा बुझ्ने बित्तिकै फरक खालको अनुभूति हुने दाबी गरे ।


यसैगरी कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ कथाकार रेग्मीले ढकालका गीतहरु संरचनाका हिसाबले संगीतकार र गायकहरुलाई चुनौती दिने खालका रहेको बताए । कृतिकार ढकालले गीत आफ्नो प्रिय विधा भएको बताए । उनले साहित्य सृजनाको सुरुवात नै गीत लेखनबाट गरेको पनि बताए ।
युरेका प्रकाशनले प्रकाशन गरेको ‘लजालु पहाडहरु’ गीतसङ्गहको मूल्य २५० तोकिएको छ ।

  • १४ मंसिर २०७७, आईतवार प्रकाशित

  • Nabintech