बिद्युत महसुल ‘निल्नु न ओकल्नु’

घर भाडाको समेत मूल्य निर्धारण नभई मनोमानी रूपमा भाडा उठाउँदै आएका घरधनीले बिद्युतमा समेत मनोमानी शुल्क उठाउन थालेपछि मजदुरी गरिरहेका तथा विद्यार्थीहरू थप मर्कामा परेका छन् ।

असल शासन प्रतिनिधि

नेपालगन्ज–नेपालगन्जका घर धनीहरूले डेरामा बस्नेसँग मनोमानी ढङ्गले विद्युत महसुल लिने गरेको पाइएको छ । नेपाल बिद्युत प्राधिकरणले विद्युत महसुलको युनिट अनुसार शुल्क निर्धारण गरेको भए पनि त्यसको बेवास्ता गर्दै घरधनीहरूले चर्को मूल्य लिन थालेपछि डेरावालाहरू मर्कामा परेका छन् ।
नेपाल बिद्युत प्राधिकणले ग्राहस्थ वर्गका लागि सिङ्गल फेज तल्लो भोल्टेजका लागि ५० युनिटसम्मका लागि न्यूनतम १२५ रूपैयाँ निर्धारण गरेको छ । यसैगरी ५१ देखि १५० सम्म प्रति युनिट ९ रूपैयाँ ५० पैसा, १५१ देखि २५० सम्म प्रति युनिट १० रूपैयाँ, १५१ देखि ४०० सम्म ११ रूपैयाँ र ४०० युनिट भन्दा माथि विद्युत खपतकर्ताको लागि प्रति युनिट १२ निर्धारण गरेको छ । बिद्युत प्राधिकरणले बिद्युत महसुलका लागि शुल्क निर्धारण गरेको भए पनि घरधनीहरूले भने पालना गरेको देखिँदैन । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ का कमल चौधरीले प्रति युनिट १५ का दरले शुल्क तिर्दै आएको बताए । उनले बिद्युत महसुलबारे जानकारी भए पनि प्रति युनिट १५ रूपैयाँका दरले शुल्क तिरी रहेकोे गुनासो गरे । यसैगरी नेपालगन्ज–१० का रमेश चौधरीले पनि प्रति युनिट १५ रूपैयाँका दरले घरधनीलाई शुल्क बुझाउँदै आएको बताए । उनले बिद्युत महसुलका विषयमा घरबेटीसँग भनाभन समेत भएको भन्दै सो रकम तिर्न नसक्ने भए घर नै छोड्ने धम्की मिलेपछि चुपचाप प्रति युनिट १५ रूपैयाँका दरले बुझाउँदै आएको बताए । यस्तै गुनासो नेपालगन्ज–४ का लोकबहादुर घर्तीको रहेको छ ।
यी प्रतिनिधिमूलक पात्र मात्रै हुन् । नेपालगन्जमा बस्ने अधिकांश भाडावालाले घरधनीलाई प्रति युनिट १५ रूपैयाँका दरले बुझाउँदै आएका छन् । घर भाडाको समेत मूल्य निर्धारण नभई मनोमानी रूपमा भाडा उठाउँदै आएका घरधनीले बिद्युतमा समेत मनोमानी शुल्क उठाउन थालेपछि मजदुरी गरिरहेका तथा विद्यार्थीहरू थप मर्कामा परेका छन् । घरधनीले लिँदै आएको बिद्युत महसुलका विषयक नेपाल बिद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रका प्रमुख लखनलाल मलिकले निर्धारित शुल्क भन्दा बढाएर कसैले पनि शुल्क लिन नपाउने बताए । उनले बढी शुल्क लिएको विषयमा जिल्ला प्रशासन कार्यालयमा उजुरी गर्न सबैलाई अपिल गरेका छन् ।

  • १५ मंसिर २०७७, सोमबार प्रकाशित

  • Nabintech