जनकल्याण मा.बि. रुकुममा लाखौं अनियमितता !

अध्यक्ष, प्रधानाध्यापक र कार्यालय सहायकद्वारा लाखौ रकम हिनामिना गरेको आरोप

असल शासन प्रतिनिधि

रुकुम पश्चिम/रुकुम पश्चिमको एक बिद्यालयमा लाखौं हिनामिना भएको आरोप लागेको छ ।

बिद्यालय व्यबस्थापन समिति अध्यक्ष, प्रधानाध्यापक र कार्यालय सहायकलाई स्थानीयले लाखौं रकम हिनामिना गरेको आरोप लगाएका हुन् ।

जिल्लाको बाँफिकोट गाउँपालिका ९ मा रहेको जनकल्याण माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम देवकोटा, प्रधानाध्यापक बलबहादुर खत्री र कार्यालय सहायक सदु बिकले बिद्यालयको लाखौ रकम हिनामिना गरेको भन्दै आन्दोलन समेत गरेका छन् । सदु बिले बिद्यालयको लेखापालको समेत काम गर्दै आएको बताईएको छ ।

पटक पटक विद्यालयको आयव्यय रकम माग्दा पनि वास्ता नगरेको, विद्यालयको अडिट लुकाउने गरेको, निर्माण भएका र निर्माणाधिन भौतिक संरचनाको रकम पारदर्शि नगराएको लगायतका आरोप सहित स्थानीयले बिद्यालयमा नारा जुलुस गरेपछि तीनै जना आरोपितलाई प्रहरीले सुरक्षा दिएको थियो । आफूहरु माथी असुरक्षाको महशुस भएपछि उनीहरुले बिद्यालयमै प्रहरी बोलाएर भागेको स्थानीयले बताएका छन् ।
प्राप्त जानकारी अनुसार, बिद्यालयको करिब ३ बर्षको आम्दानी खर्च लुकाउने गरिएको छ ।

स्थानीयले २०७४ साल देखि बिद्यालयको एक एक हिसाब खोजेतापनि उनीहरुले आनाकानी गर्दै आएको नाम प्रकाशन नगर्ने शर्तमा एक स्थानीयले बताए । उनका अनुसार, बिगत देखि नै शिक्षकहरुले पाउँने तलबबाट समेत रकम कट्टि गरिएको छ भने बिद्यार्थीबाट लिईएको मार्कसिट, सर्टिफिकेट र रजिष्ट्रेशन शुल्क सार्वजनिक लुकाउने गरिएको छ । कार्यरत शिक्षकहरुको चाडपर्व खर्च, अनुदान रकम समेत मिलोमतोमा कुम्ल्याईएको गुनासो रहेको छ ।

त्यसैगरी गत बर्ष एससिईईमा बिद्यालय उत्कृष्ट हुदाँ पाएको पुरस्कार रकम, बिद्यालयका प्रशासनिक खर्चको लागि गाउँपालिकाबाट पाएको रकम, कक्षा १ देखि ३ सम्मको बिद्यार्थीको ड्रेस शुल्क, बाल शिक्षाको फाराम शुल्क समेत अनियमितता गरेको आरोप छ । ‘बिद्यालयको सोलार समेत बेचिएको छ,’ अर्का स्थानीयले भने ‘बिद्यालयको पुरानो भवन भत्काउँदा निकालेका ८४ थान टिनका पाता समेत गायब गरिएको छ ।’
बिद्यालयमा अभिभावक शुल्क भनेर १५ सय रकम लिने गरिएको, ट्युशन र रजिष्ट्रेशन शुल्कको पैसाले केहि शिक्षकलाई तलब व्यवस्था गर्ने गरिएको बताईएतापनि उक्त कुराको पारदर्शिता नभएकोमा स्थानीयको आपत्ति रहेको छ ।

बिद्यालयको भवन निर्माणमा समेत रकम अनियमितता भएको उनीहरुको दाबी छ । जिल्ला शिक्षा कार्यालयबाट १६ लाख रकम प्राप्त भएको तर भवन निर्माणको लागि १२ लाख ९० हजारमा ठेक्का परेर काम सम्पन्न भएको थियो । त्यसबापत बिद्यालयमा बचेको ३ लाख दश हजार रकम समेत तीन जनाले मिलेर खाएको स्थानीयको आरोप छ ।

यस बिषयमा बिद्यालय व्यवसथापन समितिका अध्यक्ष प्रेम देवकोटाले निराधार र कपोलकल्पित आरोप भएको बताए । उनले अराजक समुहले गाउँमा भयभित वातावरण सिर्जना गरेर बिद्यालयमा हस्तक्षेप गर्न खाजेको बताए ।

हिसाब किताब माने र देखाउने पनि कानुन र बिधिसम्मत तरिका हुन्छ, यहाँ त होहल्ला गरेर, पढाई नै प्रभावित पार्ने काम भयो’ उनले भने, ‘हिसाबकिताब जान्न पाउनुपर्ने, देखाउनु पर्ने नाममा अर्काको चरित्र हत्या गर्ने काम भयो । बिद्यालय भवन निर्माणको बिषय आफु अध्यक्ष हुुनुभन्दा पहिले नै भएको प्रतिक्रिया दिदै उनले आफू माथी लागेको आरोपको कानूनी बाटो समात्ने जनाए ।

विवादले चर्को रुप लिएपछि प्रहरीले अध्यक्ष, प्रधानाध्यापक र कार्यालय सहायकलाई जिल्ला झिकाएको थियो । जिल्ला प्रशासन कार्यालयमा भएको एक छलफलमा दुबै पक्षका व्यक्तिहरु बसेर पौष १५ गते भित्र अभिभावक भेला बोलाई सामाजिक परीक्षण मार्फत बिद्यालयको आयव्यय र प्रगति सार्वजनिक गर्ने निर्णय गरेको बताईएको छ । प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैह्रेको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो ।

शिक्षा नियमावली अनुसार अभिभावक भेला बोलाई आय ब्यय सार्वजनिक गर्ने र कोहि कसैलाई धम्काउने कार्य कसैले नगर्ने गरी पठाईएको छ, प्रजिअ बद्रिनाथ गैह्रेले भने ‘हिसाबकिताब देखाउँदा पनि अभिभावकहरुलाई शंका लागेमा थप छानबिन गरी कारबाहिको प्रक्रिया सुरु गरिनेछ ।’

 

  • १९ मंसिर २०७७, शुक्रबार प्रकाशित

  • Nabintech