महत्वपूर्ण धार्मिकस्थल गायत्री मन्दिर

यस मन्दिरको रोचक पक्ष भनेको विगत ८ वर्षदेखि निरन्तर रूपमा मन्दिरभित्र दियो जलिरहेको छ । यस मन्दिरको दर्शनपश्चात् मनोकाङ्क्षा पूरा हुने विश्वास गरिन्छ ।

मुना विष्ट

अम्ला कुट्टी नेपालगन्जस्थित गायत्री मन्दिर गायत्री नगर शान्तिकुञ्ज हरिद्वारको प्रमुख कार्यालयबाट सञ्चालित नेपालको प्रमुख धार्मिक स्थलमध्ये एक हो । २०५९ मा मन्दिर समिति जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको छ । यो गायत्री प्रज्ञा अभियान बाँकेका नामक धार्मिक संस्थाबाट सञ्चालन हुँदै आएको छ । तत्कालीन मनिकापुर गाउँ विकास समितिको कार्यालय बाँकेले गाविस अध्यक्ष पदमबहादुर अर्यालको पहलमा २०७५ कात्तिक १८ गते सम्पन्न गाउँ परिषद् र २०५७ माघ ६ गते सम्पन्न सर्वदलीय समितिको निर्णयबाट गायत्री मन्दिर निर्माणका लागि जग्गा उपलब्ध गराइएको थियो ।
मन्दिर स्थापनाका लागि स्थानीय अगुवाहरू धरिन्दर पाठक, डा. धवलशम्शेर राणा, बिन्दु चर्तिमगर, डा. सूर्यलाल बर्मा, डा. जि.के बर्मा, डा. विजय कुमार प्रधानले अगुवाइ गरको पाइन्छ । यस मन्दिरभित्र यज्ञभवन, श्रीराम औषधालय, भगवती भोजनालय, स्वागत हल, शौचालय, स्नान घर छन् । मन्दिरको नजिक तलाउ र तलाउको बीच भागमा शिव मन्दिर र ताल निर्माणाधीन छन् । यस मन्दिरमा शिवरात्रिमा शिव कथा वाचन चार दिनसम्म हुने गरेको छ । यज्ञ, प्रवचन, भण्डारा आदि कार्य यस मन्दिरमा हुने गर्दछ । गुरु पूर्णिमामा दुई दिन जप र यज्ञ हुन्छ । यस मन्दिरमा दैनिक आरती, दिक्षा संस्कार, विवाह, ब्रतबन्ध आदि नियमित रूपमा हुने गरेका छन् । मन्दिरमा एक जना पूजारी, एक जना प्रचारक र एक जना संरक्षक छन् । मन्दिरको संरक्षकमा मुन्ना खटिक छन् भने पूजारीहरू हरिद्वारबाट आउने गरेको मन्दिर समिति बताउँछ ।
२०५६ असोज महिनामा स्थापना भएको गायत्री मन्दिरका संस्थापक अध्यक्ष डा. सूर्यलाल बर्माका अनुसार भारतको हरिद्वार शान्ति कुञ्जको धार्मिक यात्रा पश्चात् त्यहाँको मन्दिरको प्रेरणाबाट यहाँ आएर श्री गायत्री प्रज्ञा अभियानको स्थापना भएको हो । २ बिगाह ६ कठ्ठा क्षेत्रफलमा रहेको यस मन्दिरका मुख्य पूजारी विजय चौधरी हुन् । दैनिक २ पटक बिहान, साँझ पूजा हुने यस मन्दिरमा गायत्री माता, विश्व माता र प्रज्ञा माताको पूजा आराधना हुने गर्दछ । यस मन्दिरमा हरेक हप्ताको बिहीबार सबै देवताको विशेष पूजा हुने गर्दछ । नवदुर्गा, शिवरात्रि, गुरूपूर्णिमा, नवरात्रिको शुभ अवसरमा पनि यस मन्दिरमा धुमधाम पूजा आराधना हुने गर्दछ । मन्दिर परिसरभित्रै हरेक दिन बिहान ५ देखि ६ बजेसम्म योगा सिकाइन्छ ।
यस मन्दिरको रोचक पक्ष भनेको विगत ८ वर्षदेखि निरन्तर रूपमा मन्दिरभित्र दियो जलिरहेको छ । यस मन्दिरको दर्शनपश्चात् मनोकाङ्क्षा पूरा हुने विश्वास गरिन्छ । काठमाडौं, दाङ, सुर्खेत, बर्दिया, कैलालीलगायत बाँकेका विभिन्न स्थान र भारतबाट पनि दर्शनार्थी मन्दिरमा दर्शनका लागि आउने गरेका छन् । मन्दिरभित्रको यज्ञशाला उपाध्यक्ष डा. बिजय प्रधानको व्यक्तिगत लगानीमा निर्माण भएको छ । यस मन्दिर परिसरभित्र एउटा पार्क र अस्पतालको निर्माण कार्य तीव्र रूपमा अगाडि बढिरहेको छ । निर्माणाधीन अस्पतालमा आयुर्वेद, होमोपेथिक, एलोपेथिकको निशुल्क रूपमा सुविधा उपलब्ध गराइने छ, जुन आम सर्वसाधारणको लागि हुने छ । यसैगरि मन्दिरलाई व्यवस्थित र आकर्षक बनाउने उद्देश्यले पार्क निर्माण गर्न लागिएको छ । वन मन्त्रालय अन्तर्गत पर्यावरण कार्यालयको ३० लाख रूपैयाँ सहयोगमा सो पार्क निर्माण हुँदैछ । पार्कभित्र एउटा पोखरी र पोखरीको बीच भागमा शिव र गौतम बुद्धको मूर्ति राखिने छ ।
यसैगरि शिवको मन्दिर मनिकापुरको नयाँ बस्तीमा रहेकोछ । अयोध्यादेखि ३ जना साधु सन्त र नागा बाबा आएर शिव मन्दिरसहित कुटी स्थापना गरेको किंवदन्ती छ । कुटीसँगै शिव लिङ्ग
स्थापना गरि वि.सं. १९३० देखि पूजाआजा गर्दै आएको स्थानीयको भनाइ रहेको छ । नागा बाबाहरूको देहावसानपछि १९८० तिर फेरि अयोध्याबाट नागा बाबा आई पुनः मन्दिर स्थापना गरेको भनाइ जानिफकारहरूको छ । मन्दिरको वरपर शिव मन्दिरको जग्गा छ । यस मन्दिरको संरक्षण, सम्बद्र्धन गर्न जरुरी छ ।

  • ११ पुष २०७७, शनिबार प्रकाशित

  • Nabintech