कोभिडका जटिल बिरामीका लागि कर्णालीको सुगममा एम्बुलेन्स र दुर्गममा हेलिकोप्टर

असल शासन प्रतिनिधि

 

कर्णाली/कर्णाली प्रदेश सरकारले कोभिड–१९ का जटिल बिरामीको सेवाका लागि सुगममा एम्बुलेन्स र दुर्गम जिल्लामा हेलिकोप्टरको व्यवस्था गर्ने निर्णय गरेको छ ।

कर्णाली प्रदेश विपद् व्यवस्थापन केन्द्र (पिसिएमसी)का संयोजक तथा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बिहीबार बसेको बैठकले कोभिडमा आइपर्ने सङ्कट व्यवस्थापनका लागि कम्तीमा १० वटा एम्बुलेन्स भाडामा लिई सञ्चालन गर्ने र विकटमा हेलिकोप्टरसहितको व्यवस्था गर्ने निर्णय गरेको हो ।

बैठकले कर्णाली प्रदेशअन्तर्गत कोभिड अस्पतालका लागि २४सै घण्टा विद्युत् आपूर्तिको व्यवस्थाका लागि नेपाल विद्युत् प्राधिकरणलाई अनुरोध गर्ने निर्णय गरेको सामाजिक विकासमन्त्री विमला केसीले जानकारी दिइन ।

त्यसैगरी कोरोना रोग नियन्त्रण तथा उपचारका लागि खरिद गर्न आवश्यक स्वास्थ्य सामग्री विशेष परिस्थितिअनुरूपको प्रक्रिया अपनाई खरिद गर्न स्वीकृति दिनका लागि सामाजिक विकास मन्त्रालयले कर्णाली प्रदेश सरकार मन्त्रिपरिषद्मा प्रस्ताव गर्ने निर्णय गरिएको मन्त्री केसीले बताइन ।

  • १० बैशाख २०७८, शुक्रबार प्रकाशित

  • Nabintech