भुकम्पले ढलेको धरहरा पुनःनिर्माण : भोली उद्घाटन

असल शासन प्रतिनिधि

काठमाडौं / सुनको जलप लगाएको, टिलिक्क टल्किने गजुरसहितको धरहरा आकर्षक देखिएको छ । २०७२ सालको भूकम्पले ढलेको ऐतिहासिक धरहरा ६ बर्षपछि फेरि ठडिएपछि आम नागरिक खुशी भएका छन ।

अत्याधुनिक प्रविधिबाट बनेको नयाँ धरहरा चढ्न लिफ्टसँगै परम्परागत भ¥याङको पनि प्रयोग गर्न सकिने गरी बनाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेको धरहरा प्रधानमन्त्री ओलीले नै वैशाख ११ गते भोली उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।
पहिलाको धरहराको तुलनामा नयाँ धरहरा अत्याधुनिक र सुविधासम्पन्न रहेको जनाइएको छ । बाहिरबाट हेर्दा धरहरा ११ तलाको देखिए पनि भित्र भने २२ तलाको रहेको छ ।


नयाँ धरहरा परिसरमा बगैँचा, सङ्ग्रहालय, रङ्गिन जलफोहरा, प्रदर्शनी हल, पार्किङस्थल, पसल र पार्किङसहित रेष्टुरेन्ट, बगैँचा, पुस्तकालय आदिको सुविधा उपलब्ध गराइने बताइएको छ ।
धरहराको १८ औँ तलामा अवलोकन कक्ष रहेको छ ।

धरहराको २० औँ तलामा दृश्यावलोकन गर्ने व्यवस्था मिलाइएको छ । २२ औँ तलामा शिव लिङ्ग राखिएको छ । धरहराको हरेक तलामा कार्नेसका बुट्टा र पुरानै शैलीको गोला झ्यालहरू राखिएको छ । धरहरा, पार्किङ र बगैँचा गरी ४२ रोपनी क्षेत्रफलमा फैलिएको प्राधिकरणले जनाएको छ ।

वि. सं. १८८१ सालमा तत्कालीन प्रधानमन्त्री भीमसेन थापाले ११ तलाको धरहरा बनाएका थिए । तर, १९९० सालको महाभूकम्पले २ तला भत्किएपछि ९ तलामा सीमित थियो ।

  • १० बैशाख २०७८, शुक्रबार प्रकाशित

  • Nabintech