आज वैशाख १२ भूकम्पको छैठौँ स्मृति दिवस

असल शासन प्रतिनिधि

नेपालगन्ज/ छ वर्षअघि गोरखाको बारपाक केन्द्रबिन्दु भएको भूकम्पको आज छैठौं स्मृति दिवस हो । त्यस दिनको कहालीलाग्दो अवस्थाले अहिले पनि झस्काउने गर्छ ।

२०७२ साल वैशाख १२ गते शनिवार मध्याह्न ११ः ५६ बजे गोरखाको बारपाक केन्द्रबिन्दु भएको ७.६ रेक्टर स्केलको भूकम्प गएको थियो । त्यस भूकम्पले आठ हजार ९७९ जनाको निधन भएको थियो भने २२ हजार ३०९ घाइते भएका थिए ।

गोरखा भूकम्पले ओखलढुङ्गा, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, सिन्धुली, भक्तपुर, ललितपुर, काठमाण्डौ, रसुवा, नुवाकोट, धादिङ, गोरखा र मकवानपुर गरी १४ जिल्लामा धेरै क्षति गरेको थियो ।

यसैगरी सङ्खुवासभा, भोजपुर, खोटाङ, सोलुखुम्बु, चितवन, तनहुँ, लमजुङ, कास्की, पर्वत, बाग्लुङ, म्याग्दी, स्याङ्जा, पाल्पा, गुल्मी, अर्घाखाँची, पूर्वी नवलपरासी र पश्चिम नवलपरासी गरी १८ जिल्ला कम प्रभावित भएका थिए ।

भूकम्पले झण्डै १० लाख निजी आवास, सात हजार ५५३ विद्यालय, ४९ हजार ६८१ कक्षाकोठा, ५४४ स्वास्थ्य संस्थामा पूर्ण क्षति, ६५३ स्वास्थ्य संस्थामा आंशिक क्षति भएको थियो ।

यसैगरी ४१५ सरकारी भवन, विश्व सम्पदा क्षेत्रका १७० सम्पदासहित ९२० सांस्कृतिक सम्पदा र सुरक्षा निकायका ३८३ भवनमा क्षति पुगेको थियो । तीन हजार २१२ खानेपानी संरचना, ५३ सडक र २९९ मानव बस्तीमा क्षति पुगेको तथ्याङ्क छ ।
भूकम्पपछि २९९ वटा असुरक्षित ठाउँमा रहेका चार हजार ७२० लाभग्राहीलाई सुरक्षित आवासका लागि जग्गा व्यवस्था मिलाइएको छ ।

बाह्र हजार ७८८ भूमिहीन लाभग्राहीलाई जग्गा व्यवस्थापनसहित घर निर्माण गर्ने वातावरण सिर्जना गरिएको छ । क्षतिग्रस्त ९२० सम्पदामध्ये ४९३ पुनःनिर्माण सम्पन्न भएको छ । २८८ सम्पदा पुनःनिर्माण भइरहेका छन् ।

  • १२ बैशाख २०७८, आईतवार प्रकाशित

  • Nabintech