राप्तीसोनारीमा ४५ शैय्‍याको आइसोलेसन

असल शासन प्रतिनिधि

नेपालगन्ज/ कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै राप्ती सोनारी गाउँपालिकामा ४५ शैय्‍याको आइसोलेसन बनाइँदै छ । राप्तीसोनारी वडा नम्बर ३ साइपुरको सेल्टर भवनमा १५, वडा नम्बर ५ मा १० शैय्‍याको आइसोलेसन तयार गर्न थालिएको हो भने वडा नम्बर २ कचनापुरको लक्ष्मी सामुदायिक बहुमुखी क्याम्पसको छात्रावासमा १५ शैय्‍याको आइसोलेसन सञ्चालनमा आइसकेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर शाहीले जानकारी दिए । त्यस्तै राप्तीसोनारी अस्पतालमा ५ शैय्‍याको आइसोलेसन तयारी अवस्थामा रहेको उनले जानकारी दिए ।

गाउँपालिकामा लक्षणसहितका संक्रमित नदेखिए पनि नेपालगन्जको अवस्थालाई हेर्दा समुदाय स्तरमा कोरोना भाइरस फैल्न सक्ने कुरालाई मध्यनजर गर्दै क्रिटिकल अवस्थाका संक्रमितका लागि अक्सिजनको व्यवस्था गरिरहेको प्रमुख शाहीले बताए । लक्षण नभएका संक्रमितलाई होम आइसोलेसनमा बस्न र अन्यलाई स्वास्थ्य मापदण्ड पालना गर्न गाउँपालिकाका स्वास्थ्य शाखाबाट सूचना जारी गरिएको जानकारी प्रमुख शाहीले दिए ।

कचनापुरको लक्ष्मी सामुदायिक बहुमुखी क्याम्पसको छात्रावासमा अहिले ३ जना संक्रमित बसिरहेको वडा नम्बर २ का वडा अध्यक्ष मदनकुमार ओलीले जानकारी दिए । उनका अनुसार संक्रमितको अवस्था सामान्य रहेको छ भने आइसोलेसनमा सुविधासहितको बस्ने व्यवस्था मिलाइएको छ ।

त्यस्तै विगत ८ दिनदेखि गाउँपालिकाका अध्यक्ष लाहुराम थारु होम आइसोलेसनमा रहेका छन् । त्यस्तै प्रमुख प्रशासकीय अधिकृत शाही, लेखा अधिकृत गौरबकुमार लामिछाने, शिक्षा शाखा प्रमुख जीवन न्यौपानेलगायत वडा नम्बर ९ का वडा अध्यक्ष महावीर ओली, वडा नम्बर ८ का वडा सदस्य तारा बिकसहित १६ जना कर्मचारीलाई पनि कोरोना संक्रमण भएको छ । उनीहरु सबैको अवस्था सामान्य रहेको छ ।

उच्च मनोबलका साथ स्वास्थ्य मापदण्ड पूरा गरे कोरोना भाइरसलाई सहजै परारस्त गर्न सकिने अध्यक्ष थारुले बताए । नदेखिने चिज भएकाले कोरोना भाइरसलाई मजाकको रुपमा नलिई सामाजिक दूरी कायम गर्न, सकभर घरबाट बाहिर ननिस्कन र निस्कनै पर्ने भए माक्सको प्रयोग गर्न, बारम्बार साबुन पानीले हात धुन आग्रह गरेका छन् । कुनै एकले गरेको गल्तीको सजाय सम्पूर्ण समुदायले नै व्यहोर्नु पर्ने भएकाले यस संवेदनशील परिस्थितिमा आफू पनि बच्ने र अरुलाई बचाउँदै एकअर्काको आवश्यकतामा सबैले हातेमालो गर्नु पर्नेमा अध्यक्ष थारुले जोड दिए ।

  • १२ बैशाख २०७८, आईतवार प्रकाशित

  • Nabintech