वरिष्ठ समाजसेवी सिद्धिकीको निधनबाट अपुरणिय क्षति : गैसस महासंघ

असल शासन प्रतिनिधि

नेपालगन्ज / संविधान सभा सदस्य गैसस महासंघ नेपाल बाँकेकी सल्लाहकार मोहम्मदी सिद्दिकीको कोरोनाका कारण भएको निधनप्रती गैसस महासंघ नेपाल बाँकेले शोक प्रकट गरेको छ ।

जीवनभर प्रजातन्त्र र लोकतन्त्रका लागि संघर्षशिल सिद्धिकीको निधनबाट देशले एक असल नेतृ गुमाएको महसुस गर्दै महासंघले शोक बक्तव्य मार्फत शोक प्रकट गरेको हो ।

सिद्दिकीको बैशाख ११ गते कोरोनाका कारण निधन भएको हो । फातिमा फाउन्डेसनकि संस्थापक, सुप्रसिद्द समाजसेवी सिद्धिकीको उपचारका क्रममा भेरी अस्पताल नेपालगन्जमा शनिबार साँझ भएको निधनबाट सिंगो गैसस क्षेत्र स्तव्ध बनेको महासंघले जनाएको छ ।

कोभिड पोजेटिभ भएर विगत दुई हप्ता देखि भेरी अस्पतालको कोभिड वार्डमा उपचार गराई रहेकी सिद्दिकीलाई गुमाउनु पर्दा एक असल अभिभावक गुमाएको महसुस गरेको गैर सरकारी संस्था महासंघ बाँकेका अध्यक्ष नमस्कार शाहद्धारा हस्ताक्षरित शोक बक्तब्यमा उल्लेख छ ।

एमनेष्टि ईन्टरनेशनल नेपाल मार्फत लामो समय मानव अधिकार रक्षाका लागि कार्य गरेकि सिद्धिकी बिगत लामो समय देखि फातिमा फाउण्डेसन मार्फत मधेशी, मुस्लिम महिलाहरुको हकहित र सशक्तिकरणका लागि क्रियाशिल थिईन्-बक्तव्यमा भनिएको छ- उनी मुस्लिम महिलाहरुले लगाउने बुर्का विरुद्ध अभियान चलाउने नेपालकै पहिलो मुस्लिम महिला थिईन् ।

सामाजिक सेवा र राजनीतिमा जीवन समर्पण गरेकी सिद्दिकीले समाजसेवामा कहिल्यै राजनीति गरिनन बरु राजनीति मार्फत समाजसेवा गरिन-महासँघद्वारा जारी बक्तव्यमा भनिएको छ -साधा जीवन उच्च बिचार, सरल जीवन यापन र बिनम्रता उनीबाट सबैले सिक्नु पर्ने पक्ष हुन् ।

संबिधानसभा सदस्य भएर देशलाई संबिधान प्रदान गर्न गरेको उच्च योगदानको कदर गर्दै बिभिन्न गैससहरु मार्फत मानव अधिकारको रक्षा, सुशासन सवलिकरण, सामुदायिक सशक्तिकरण, सामाजिक सद्भाव, महिलाहरुको आत्मजागरण, सामाजिक सचेतना, मधेशी, मुस्लिम समुदायको आत्मनिर्भरताका लागि पुराएको अतुलनिय योगदानको गैसस महासंघ नेपालले उच्च कदर गरेको बक्तब्यमा उल्लेख छ ।

उनले जीवन भर गरेकोे संघर्ष, अंगालेको निष्ठा र सदाचारिता सबैका लागि उत्प्रेरणाको श्रोत हुनेछन् – बक्तव्यमा भनिएकोछ- सिद्दिकीले लिएको लक्ष्य, उनका अधुरा योजना र सपनाहरु परिपूर्ति गर्ने कार्यमा गैसस महासंघ नेपाल दत्तचित्त भएर अघि बढ्नेछ ।

उनको अतुलनिय योगदानको चिरकालसम्म सम्झना हुने कार्य महासंघले गर्ने प्रतिबद्धता समेत महासंघले जनाएको छ ।

कोरोनाका कारण दिवङ्गत गैसस महासंघ नेपालकी सल्लाहकार, बरिष्ठ समाजसेवी मोहम्मदी सिद्धिकी प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै महासङ्घले शोकाकुल परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ ।

  • १२ बैशाख २०७८, आईतवार प्रकाशित

  • Nabintech