कनेक्टिकट चौतारी-२०२१ विमोचनसँगै २०७८ को शुभकामना आदान प्रदान

असल शासन प्रतिनिधि

नेपालगन्ज– अमेरिकाको कनेक्टिकट राज्यमा बसोबास गर्ने नेपालीहरूको संस्था  कनेक्टिकट नेपाली समाज (नेकोन, USA) को वार्षिक मुखपत्र ‘कनेक्टिकट चौतारी’ विमोचन गरिएको छ । अमेरिकास्थित वेस्ट हार्टफोर्डको वालकट पार्कमा उक्त मुखपत्रको आठौं संस्करण विमोचन गरिएको हो ।

वेस्ट हार्टफोर्ड टाउनकी मेयर स्यारी जी क्यान्टर र राज्य प्रतिनिधि केट फरारले संयुक्त रुपमा मुखपत्र विमोचन गरेका हुन् ।
कोरोनाकालमा गरिएको विमोचन कार्यक्रममा सामाजिक दूरी कायम गर्दै त्यहाँ बस्ने नेपालीले नयाँ वर्ष २०७८ को शुभकामना पनि आदान प्रदान गरेका छन् । कवि तथा गीतकारसमेत रहेका मुखपत्रका प्रधान सम्पादक धन लामा रहेको मुखपत्रको विमोचन कार्यक्रममा संस्थाका पदाधिकारी, सल्लाहकारलगायतको उपस्थिति रहेको थियो ।

प्रधान सम्पादक लामाका अनुसार कार्यक्रम संस्थाका वर्तमान अध्यक्ष नारायण पौडेलको सभापतित्व भएको थियो भने सचिव राजन तिम्सिनाको उद्घोषण र उपाध्यक्ष रघु गिरीले स्वागत मन्तव्य राखेका थिए ।

मुखपत्र प्रकाशनमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्नेलाई प्रधान सम्पादक लामाले धन्यवाद दिनुका साथै मुखपत्रलाई फ्लिपबुक संस्कारणमा समेत छापिएको बताए । उनका अनुसार कोरोना कहर र अत्यावश्यक कामका कारण कार्यक्रममा सहभागी हुन नसकेकाले फ्लिपबुक द्वारा संस्थाको आठौं संस्करण पढ्न सक्ने छन् ।

मुखपत्र विगतकेही वर्षदेखि नेपालमै डिजाइन हुँदै आएको छ । मुखपत्रको लेआउट डिजाइन पत्रकार एवम् डिजाइनर रमण ‌ओलीले गरेका हुन् ।

यसैबीच कार्यक्रममा संस्थाका प्रमुख सल्लाहकार कृष्ण अधिकारी, भूतपूर्व अध्यक्षहरु र स्थानीय संघ संस्थाहरुका प्रतिनिधिले पनि नयाँ वर्ष २०७८ सालको शुभ उपलक्ष्यमा स्वदेश तथा विदेशमा छरिएर रहेका नेपाली दाजुभाइ तथा दिदी बहिनीमा सुस्वास्थ्य, दीर्घायु, सुख शान्ति र समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका थिए ।

मुखपत्र विमोचनको अवसरमा संस्थाका सल्लाहकार रोमी योञ्जनको संयोजकत्वमा बेलुका ६:३० देखि ८:३० बजेसम्म चलेको जुम भर्चुअल सांस्कृतिक कार्यक्रममा अतिथि कलाकार वरिष्ठ गायिका कुन्ति मोक्तान, वरिष्ठ संगीतकार शिलाबहादुर मोक्तान र एक दर्जन बढी स्थानीय कलाकारको प्रस्तुति रहेको थियो । त्यसै गरी (नेकोन, USA) ले अप्रिल १६, शुक्रबारका दिन साँझ ६ बजे देखि ७ बजे सम्म डा. झरेन्द्र रिजालको नेतृत्वमा कोभिड-१९ र यसको भ्याक्सिनको सेरोफेरोमा रहेर एक स्वास्थ्य सचेतना कार्यक्रम पनि भर्चुअल जुम मार्फत नै सम्पन्न गरेको प्रधान सम्पादक लामाले जानकारी दिए ।

तस्बिरः धन लामा/ अमेरिका

  • १४ बैशाख २०७८, मंगलवार प्रकाशित

  • Nabintech