बजेट अभावले पीसिआर परिक्षण बन्द

स्वाब संकलन, एन्टिजेन टेस्ट लगायतको कार्यमा सहयोगको लागि प्रदेश सरकार समक्ष पत्राचार

असल शासन प्रतिनिधि

रुकुम पश्चिम / नयाँ भेरिएन्ट सहितको कोभिड १९ बढ्दै गएको बेला पनि गत बर्ष रुकुम पश्चिमको एक नगरपालिकाले सञ्चालनमा ल्याएको पीसिआर परिक्षण प्रयोगशालामा अहिले परिक्षणको काम सुचारु हुन सकेको छैन । आवश्यक बजेट र जनशक्ति अभावको कारण प्रयोगशालामा परिक्षण सुचारु हुन नसकेको चौरजहारी नगरपालिकाले जनाएको छ ।

नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीले अहिले परिक्षणको काम हुन नसकेको जनाए । ‘ल्याबमा अहिले एक जना कर्मचारी हुनुहुन्छ, परिक्षण सुचारु गर्न पहल हुँदैछ’ अधिकृत केसीले भने, ‘स्वाब संकलन, एन्टिजेन टेस्ट लगायतको कार्यमा सहयोगको लागि प्रदेश सरकार समक्ष पत्राचार गरेका छौ ।’

नगरपालिका एक्लैले खर्च धान्न नसक्ने अवस्था हुँदा पनि महामारीको अप्ठ्यारोलाई ख्याल गरेर संचालन गरेको थियो । अप्ठ्यारो अवस्थामा नगरपालिका एक्लैले चलाएको प्रयोगशालालाई अन्य पालिकाले जनशक्ति र आर्थिक सहयोग गर्ने बताएतापनि आवश्यक सहयोग नगरेको नगरपालिकाले जनाएको छ । प्रयोगशाला सञ्चालनमा आएदेखि नै नगरपालिकाले आर्थिक समस्या भएको र अन्य पालिका, प्रदेश र संघीय सरकारले सहयोग गर्नुपर्ने बताउँदै आएको थियो । प्रदेश सरकारले मेसिन खरिदका लागि गरेको सहयोग बाहेक कसैले पनि सहयोग नगरेको निमित्त प्रमुख प्रशासकीय प्रमुख केसीले बताए ।

चौरजहारी नगरपालिकाले १ करोड २३ लाख रुपैयाँमा गत बर्षको असार दोस्रो साता वडा नम्वर २ स्थित जिल्ला आयुर्वेद कार्यालयमा पीसीआर परिक्षण प्रयोगशालामा स्थापना गरेको हो । मेसिन खरिदको लागि कर्णाली प्रदेश सरकारले ८६ लाख २२ हजार रुपैयाँ अनुदान दिएको थियो भने बाँकि रकम नगरपालिकाले लगानी गरेको थियो । उक्त प्रयोगशालामा गत बर्ष जिल्लाका ६ स्थानीय तह सहित सल्यान र जाजरकोटका १० हजार ६ सय २३ जनाको स्वाब परीक्षण भएको थियो ।

  • १५ बैशाख २०७८, बुधबार प्रकाशित

  • Nabintech