रुकुममा एक कोरोना संक्रमित पुरुषको मृत्यु

नयाँ भेरिएन्ट सहितको कोभिड १९ को संक्रमण सुरु भएयता रुकुम पश्चिममा कोरोना संक्रमणका कारण दुई जनाको ज्यान गयो

असल शासन प्रतिनिधि

रुकुम पश्चिम / जिल्ला अस्पताल सल्ले रुकुम पश्चिममा कोरोना संक्रमित एक जनाको मृत्यु भएको छ । बिहिबार दिउँसो अस्पतालको आइसोलेशनमा उपचारका लागि भर्ना भएका मुसिकोट नगरपालिकाका ६० वर्षीय एक पुरुषको विहीबार राती साढे १२ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

केही दिनदेखि अचानक ज्वरो आउने, टाउको दुःख्ने, श्वास प्रश्वासमा समस्या देखिएर समस्या बढ्दै गएपछि जिल्ला अस्पताल ल्याइएको थियो । जिल्ला अस्पतालमा गरिएको एन्टिजेन परीक्षणमा उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।

नयाँ भेरिएन्ट सहितको कोभिड १९ को संक्रमण सुरु भएयता जिल्लामा कोरोना संक्रमणका कारण दुई जनाको ज्यान गएको छ । यस अघि वैशाख ६ गते मुसिकोट कै एक ४० वर्षीया महिलाको कोरोना संक्रमणकै कारण जिल्ला अस्पतालकै आइसोलेशनमा मृत्यु भएको जिल्ला अस्पतालका कोरोना रोग नियन्त्रण फोकल पर्सन इश्वर रावलले जानकारी दिए।

दोस्रो चरणको कोरोना सुरु भएयता जिल्लामा ९६ जनामा संक्रमण पुष्टि भएको फोकल पर्सन रावलले जानकारी दिए।

  • १७ बैशाख २०७८, शुक्रबार प्रकाशित

  • Nabintech