डडेल्धुरा अस्पताल विरामी भर्ना गर्न नसक्ने अवस्थामा

अक्सिजन अभाव मुख्य कारण, विरामी निको भएर डिस्चार्ज भएपछि मात्रै नयाँ विरामीको भर्ना गर्ने अस्पतालको भनाई

असल शासन प्रतिनिधि

डडेल्धुरा / सुदुरपश्चिमको डडेल्धुरा अस्पतालले बिरामीको चाप बढेको भन्दै थप विरामी भर्ना गर्न नसक्ने जनाएको छ ।
कोरोना सक्रमणको तिब्र चपेटामा रहेको सुदुरपश्चिम प्रदेश अन्तरगतको मुख्य अस्पतालको रुपमा रहेको डडेल्धुरा अस्पतालले विरामी भर्ना गर्न नसक्ने सुचना जारी गरेपछि आम नागरिकहरुमा सन्त्रास फैलिएको छ । डडेल्धुरा अस्पतालले एक सुचना जारी गर्दै भनेको छ– हामी निकै गाह्रो समयको सामना गरिरहेका छौं, हामीले आफ्नो क्षमता भन्दा बढी ICU र HDU बिरामीहरू भर्ना गरिसकेका छौं । यस्तो दिनसँग हामीले सामना गर्नुपर्ला भनेर सोचेका थिएनौं । तत्काल हामी थप बिरामीहरूलाई भर्ती गर्न नसक्ने वास्तविकतामा पुगेका छौ । यद्यपि, हाम्रो बिरामीहरू निको हुने बित्तिकै हामी नयाँ केस भर्नेछौं । हाललाई अस्पताल सेवा पहिले नै सँतृप्त भइसकेको कुरा सार्वजनिक गर्दछौं । अस्पतालमा वेडको व्यवस्थापन गरिएपनि अक्सिजनको अभावका कारण थप भर्ना गर्न नसकिने अस्पताल श्रोतले जनाएको छ । हाल आफ्नै अक्सिजन उत्पादन गर्ने प्लान्टबाट अस्पतालले दैनिक २७ सिलिण्डर भर्दै आएको मा त्यसले दैनिक ११ जनालाई मात्रै अक्सिजन दिन सकिने अस्पतालले जनाएको छ । डडेल्धुरा अस्पतालमा १६ जना कोभिड सक्रमित भर्ना भएका छन् जस मध्ये ३ जनाको भेन्टिलेटरमा उपचार भईरहेको छ । अस्पतालमा ८ ओटा आइसियू बेड र २१ एचडियू वेड रहेका छन् ।
यसरी अस्पतालले नयाँ विरामी भर्ना गर्न नसक्ने सूचना जारी गरेसँगै अस्पताल पायक पर्ने डडेल्धुरा, बैतडी, डोटी लगायतका स्थानीयहरु चिन्तित भएका छन् । कोरोना सक्रमितको सख्या तिब्र रुपमा बढीरहेको अवस्थामा सरकारले तत्काल अस्पतालको स्तरोन्नती गरि सेवा विस्तार गर्नुपर्नेमा स्थानीयहरुले जोड दिएका छन् ।

  • १८ बैशाख २०७८, शनिबार प्रकाशित

  • Nabintech