कोभिड बिरुद्ध के गर्दैछ नेपालगञ्ज उपमहानगरपालिका ?

असल शासन प्रतिनिधि

नेपालगञ्ज/कोरोना संक्रमणलाई परास्त गरि डिस्चार्ज हुने क्रम बढ्दो छ ।

नेपालगञ्ज उप–महानगरपालिकाभित्र हाल सम्म एक हजार ४९१ महिला र दुई हजार १३० जना पुरुष गरि तीन हजार ६२१ जना डिस्चार्ज भएका छन् ।

नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख रामवहादुर चन्दका अनुसार, कोभिड निको भएर डिस्चार्ज हुनेहरुको संख्या बढिरहेको छ ।

उनका अनुसार, दुई हजार ५६९ महिला र तीन हजार ३८२ जना गरि ५ हजार ९६१ जनामा कोभिड संक्रमण देखिएको छ । उपमहानगरपालिकामा कोभिडबाट हालसम्म १९ महिला र २४ पुरुष गरी ४३ जनाको निधन भएको छ ।

आईतबारसम्म एकहजार १७२ जना महिला र एक हजार ३३७ जना पुरुष गरी दुई हजार ५०९ जना सक्रिय संक्रमित      छन् । सक्रिय संक्रमितहरु सबै बैशाख ९ गतेपछि संक्रमण देखिएका व्यक्ति हुन् । कोरोना रोकथाम र नियन्त्रणका लागि नगरभित्र प्रभावकारी स्वास्थ्य उपचारको व्यवस्था मिलाइएको उपमहानगर प्रमुख डा. धवलशम्शेर राणाले बताए ।

उपमहानगरपालिकाले राज्यका विभिन्न निकाय र गैरसरकारी संघ संस्थासँग मिलेर रोकथाम र नियन्त्रणको अभियान चलाईरहेको छ । ह्वाईटहाउसमा सामान्य आईसोलेसन र रामलिला मैदानस्थित तालिम केन्द्रमा अक्सिजन सहितको आईसोलेसन केन्द्र सञ्चालन गरेको छ । आईसोलेसनमा चिकित्सकसहितको दक्ष जनशक्तिको व्यवस्थापन गरिएको उपप्रमुख उमा थापा मगरले जानकारी दिईन् ।

शंकास्पद ब्यक्तिहरुको पिसिआर परीक्षणको व्यवस्था उप–महानगरपालिकाले मिलाएको छ । उपमहानगरपालिकाले जमुनाहमा होल्डिङ सेन्टरका लागि समन्वय गरेको छ । भने जमुनाहमै हेल्थडेस्क सञ्चालन गरेको छ ।

होम आईसोलेसनमा बस्नेहरुका लागि प्रत्येक वडामा स्वास्थ्यकर्मी खटाइएको छ । भने भेरी अस्पतालमा विरामी कुरुवाहरुको सहजताका लागि खानाको व्यवस्थापन गरिरहेको अञ्जनीमाता रसोईलाई मासिक ५० हजार रुपियाँ सहयोग गरिरहेकोछ ।

कोभिडका विरामी ल्याउनलैजान निशुल्क एम्बुलेन्सको ब्यवस्था गरिएको भन्दै उपप्रमुख मगरले कोभिड रोकथाम र नियन्त्रणका लागि सबै पक्षको साथ र सहयोगको अपेक्षा गरिएको बताईन् ।

  • १९ बैशाख २०७८, आईतवार प्रकाशित

  • Nabintech