रसोईलाई १ लाख ५० हजार सहयोग गर्ने उपमहानगरपालिकाको निर्णय

असल शासन प्रतिनिधि

नेपालगञ्ज / भेरी अस्पताल नेपालगञ्जमा उपचाररत कोभिड संक्रमित र अन्य विरामीका कुरुवालाई लक्षित गरि सञ्चालित अञ्जनी माता रसोईलाई नेपालगञ्ज उप–महानगरपालिकाले मासिक १ लाख ५० हजार रुपियाँ सहयोग गर्ने भएको छ ।
अस्पतालमा उपचाररत विरामी र कुरुवालाई २० रुपियाँमा प्रति छाक विहानको खाना खुवाईरहेको रसोईलाई उप–महानगरपालिकाले मासिक १ लाख ५० हजार रुपियाँ सहयोग गर्ने निर्णय गरेको छ । पछिल्लो समय कोभिडका विरामीको संख्या बढेपछि रसोईले प्रति छाक ८० रुपियाँमा साँझको खाना खुवाईरहेको छ । रसोईले साँझको खाना खुवाउन आर्थिक अभाव भएको भन्दै उप–महानगरपालिकामा अनुरोध गरेपछि सोमबार बसेको कार्यपालिका बैठकले मासिक १ लाख ५० हजार रुपियाँ सहयोग गर्ने निर्णय गरेको उपमहानगरपालिकाले जनाएकोछ । नगर प्रमुख डा. धवलशम्शेर राणाको अध्यक्षतामा बसेको बैठकले कोभिड–१९ संक्रमण रोकथाम र नियन्त्रणका लागि नगरभित्र उपचार तथा अन्य सेवा प्रभावकारी रुपमा अगाडी बढाउन पहल गर्ने निर्णय गरेको छ । नगर क्षेत्रभित्र कोभिड विरामीको सहजताका लागि एउटा एम्बुलेन्स सञ्चालनमा रहेको बैठकले अर्को एउटा एम्बुलेन्स थप गर्ने निर्णय गरेको छ । यसैगरी नगरभित्र होम आईसोलेसनमा बसेका विरामीलाई वडाका स्वास्थ्य फोकल पर्सनहरुले नियमित फोन सम्पर्क गरी उनीहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिई आवश्यक परामर्श दिने निर्णय बैठकले गरेको छ । भेरी अस्पतालको प्रत्यक्ष निगरानीमा वाल मन्दिरमा तत्काल आईसोलेसन सञ्चालन गर्ने निर्णय बैठकले गरेको नेपालगन्ज उपमहानगरपालिका उप प्रमुख उमा थापा मगरले बताईन ।

  • २० बैशाख २०७८, सोमबार प्रकाशित

  • Nabintech