कोरोना महामारीको अन्त्यका लागि नेपालगञ्जमा सामुहिक पूजा र प्रार्थना

बिहिबार बेलुकी दीप प्रज्वलन गरिने

असल शासन प्रतिनिधि

नेपालगन्ज/सामाजिक सद्भावको सहर नेपालगन्जमा कोरोना महामारीको अन्त्यका लागि सबै धर्मका धार्मिकस्थलमा पूजा र प्रार्थना गरिएको छ ।

विभिन्न धर्मका धर्मगुरुहरुको साझा संस्था अन्तर धार्मिक तथा सामाजिक सदभाव मञ्च नेपालगन्जको आह्वानमा बुधबार अपरान्ह पूजा, प्रार्थना गरिएको हो ।

मञ्चका अनुसार, अपरान्ह ४ः३० बजेदेखि ५ बजेसम्म नेपालगन्जका मन्दिर, मस्जिद, गुम्बा, गुरुद्वारा र चर्चमा एकै साथ पूजा अर्चना र प्रार्थना गरिएको छ ।

शक्तिपीठ बागेश्वरी मन्दिर, मुस्लिमहरुको जामा मस्जिद, बुद्ध धर्मालम्बीहरुकोे बौद्ध गुम्बा, किश्चियनहरुले ज्योति चर्च र शिख धर्महरुकोे गुरुद्वारामा आ–आफ्ना धार्मिक विधि अनुसार पूजा र प्रार्थना गरिएको छ । विशेष पूजा र प्रार्थनापछि बागेश्वरी मन्दिरको परिसरमा धर्मगुरुहरु भेला भएका थिए ।

भेलालाई सम्बोधन गर्दै अन्तर धार्मिक तथा सामाजिक सद्भाव मञ्चका अध्यक्ष तथा बागेश्वरी मन्दिरका मुल महन्त चन्द्रनाथ योगी, ईस्लाम धर्मका मौलाना अब्दुल जब्बार मञ्जरी, बौद्ध धर्मगुरु गुणबहादुर लामा, ज्योति विकास चर्चका पास्टर डम्बरबहादुर थापा र शिख धर्मगुरु राजेन्द्रसिंह सदरदारले कोरोना महामारीले मानव जातीलाई सास्ति दिईरहेको उल्लेख गर्दै कोरोना महामारीको अन्त्यका लागि एकै साथ सबै धार्मिक स्थलहरुमा पुजा, अर्चना र प्रार्थना गरेको बताए ।

उनीहरुले आआफ्नो धार्मिक आस्था र बिधि बमोजिम कोरोनाबाट ज्यान गुमाएकाहरुको आत्माको चीर शान्तिको कामना, संक्रमितको शीघ्र स्वास्थ्य लाभको कामना र बिरामीहरुका परिवार र उपचारमा दिनरात खटेका स्वास्थ्यकर्मीसहित सबै नेपालीको मनोबल बढाउनका लागि पुुजा र प्रार्थना गरेको बताए । उनीहरुले पुजा र प्रार्थनाबाट कोरोना महामारीको अन्त्य हुने अपेक्षा लिएको बताए ।

कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले अहिलेको बिषम परिस्थितीमा धर्मगुरुहरुले सामुहिक रुपमा गरेको पुजा, अर्चनाबाट समस्या समाधान हुने अपेक्षा लिएको बताए । बाँके प्रहरी प्रमुख ओम बहादुर राना, राष्ट्रिय अनुसन्धानका प्रमुख नगेन्द्र गिरीलगायतको उपस्थिती रहेको कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिका उपप्रमुख उमा थापा मगरले धर्महरुले सामुहिक रुपमा गरेको पुजा र प्रार्थनाबाट सबैमा सकारात्मक सन्देश गएको बताईन् ।

बिहिबार बेलुकी दीप प्रज्वलन :-

यसैगरी नेपालगन्जमा बिहिबार बेलुकी दीप प्रज्वलन गरिने भएको छ ।

कोरोना महामारीको अन्त्य, कोरोना संक्रमित विरामीहरुको शीघ्र स्वास्थ्यलाभको कामना, विरामीहरुका परिवार र उपचारमा दिनरात खटेका स्वास्थ्यकर्मीहरु सहित सवै आम नेपालीको मनोवल वढाउन र दिवंगतहरुको आत्माको चीर शान्तिको कामना गर्दै दीप प्रज्वलन गर्न लागिएको अन्तर धार्मिक तथा सामाजिक सद्भाव मञ्चले जनाएको छ ।

कार्यक्रममा मञ्चका अध्यक्ष चन्द्र नाथ योगीले आ–आफ्नो घरको मुलगेट, वरण्डा या घर परिसरमा दियो, मैनवत्ती या वल्व बालेर कोरोना विरुद्धको लडाईंमा सिंगो बाँके र सवै नेपाली एकजुट भएर दृढताका साथ उभिएका छौं भन्ने सन्देश प्रबाह गर्न सबै नेपालगन्जबासिलाई आग्रह गरे ।

 

 

  • २२ बैशाख २०७८, बुधबार प्रकाशित

  • Nabintech