खाद्यान्न संकट हुन नदिन हुम्लामा हवाई उडान पुनः शुरु

असल शासन प्रतिनिधि

हुम्ला/ हुम्ला जिल्लामा खाद्यान्न संकट पर्न सक्ने जनाउँदै जिल्लास्तरीय कोभिड व्यवस्थापन केन्द्र (डिसिसिएमसी)ले खाद्यान्न र निर्माण सामग्री ढुवानी गर्न दिने निर्णय गरेको छ ।

जिल्लामा उडान भर्दै आएका निजी विमान कम्पनी सीता एयर, तारा एयर र समिट एयरका प्रतिनिधिसहितको बैठकले यस्तो निर्णय गरेको हो ।

केन्द्रका संयोजक तथा प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले बढ्दो संक्रमणको अवस्थालाई ध्यानमा राखी जिल्लामा खाद्यान्न संकट हुन नदिन हवाई उडान जारी राख्ने निर्णय गरिएको बताए ।

गत सोमबार नेपालगञ्ज र सुर्खेत हुँदै जिल्ला आएका यात्रुमध्ये एन्टिजेन परीक्षण गरिएका आठ जनामा कोरोना संक्रमण देखिएपछि नेपालगञ्ज र सुर्खेतसँगको प्रत्यक्ष हवाई सम्पर्क बिच्छेद गर्न यही वैशाख २२ गते राति १२ बजेदेखि संक्रमण रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८ अनुसार जिल्लाभर निषेधाज्ञा गरिएको थियो भने सुर्खेत र नेपालगञ्जबाट हुने सबै उडान बन्द गरिएको थियो ।

एयरलाइन्सद्वारा ढुवानी गरेर ल्याइएका सामग्री यही वैशाख २८ गतेपछि मात्रै सम्बन्धित व्यक्ति र निकायमा दिइने निर्णय बैठकले गरेको छ । निजी विमान कम्पनीले ढुवानी गरेर ल्याएका खाद्यान्न तथा निर्माण र दैनिक उपभोग्य सामग्री झार्न लोडरले अनिवार्य पिपिसेट लगाउनुपर्ने बताइएको छ ।

  • २४ बैशाख २०७८, शुक्रबार प्रकाशित

  • Nabintech