कोरोना संक्रमणविरुद्ध राप्तीसोनारीमा बैठक

असल शासन प्रतिनिधि

नेपालगन्ज/ कोरोना भाइरस (कोभिड १९) को दोस्रो लहरको संक्रमणपछि उत्पन्न विभिन्न समस्या समाधानका लागि बाँकेको राप्तीसोनारी गाउँपालिकामा सर्वदलीय बैठक बसेको छ । गाउँपालिकाका अध्यक्ष लाहुराम थारुको अध्यक्षतामा बसेको बैठकमा अहिलेको विष्म परिस्थितिमा उत्पन्न समस्यालाई समाधानका लागि सबैजना एकजुट भएर लाग्ने र महामारी रोगको संक्रमणबाट बच्न उच्च सावधानी अपनाउनु पर्नेमा जोड दिइएको छ ।

सर्वदलीय बैठकले दोस्रो लहरको कोरोना भाइरसको प्रभाव कम गर्ने उद्देश्यले विभिन्न १२ बुँदे निर्णय गरिएको अध्यक्ष लाहुराम थारुले बताए । अध्यक्ष थारुका अनुसार  आइसोलेसनमा अक्सिजनको आवश्यकता पूरा गर्न अक्सिजन सिलिन्डर संख्या थप गर्ने, हाल तीन ठाउँमा सञ्चालन भएका आइसोलेसनमा बेड संख्या थप्ने र आवश्यकताअनुसार आइसोलेसन केन्द्र थप गर्ने, संक्रमितहरुबाट अन्य व्यक्तिलाई संक्रमणबाट बचाइने तथा संक्रमितलाई थप समस्या हुन नदिन संचार सम्पर्कलाई व्यवस्थित बनाउने, गाउँ कार्यपालिकाको आफ्नै पहलमा संक्रमितहरुको पहिचान गर्न परीक्षणको दायरा बढाउने र त्यसको उचित समयमा रिपोर्टको व्यवस्था गर्ने, होम आइसोलेसनमा बसेका बिरामीहरुलाई थप समस्या आउन नदिन तथा अन्यलाई संक्रमण हुन नदिन उपयुक्त स्वास्थ्य सामग्री व्यवस्थापन तथा जनचेतना विकास गर्न पहल गर्ने रहेको छ ।

त्यस्तै बैठकले नेपाल सरकारले जारी गरेको निशेधाज्ञालाई प्रभावकारी बनाउन सुरक्षा निकायसँग समन्वय गर्ने, बाहिरी देशबाट आउने नागरिकलाई व्यवस्थापन गर्न क्वारेन्टाइनको व्यवस्थापन गर्ने संक्रमितहरुको ओसारपसारको लागि उपयुक्त तवरले सवारी साधनको व्यवस्थापन गर्ने, वडा समितिहरुलाई रोकथाम, नियन्त्रण र व्यवस्थापन गर्न सक्रिय रुपमा परिचालन गर्ने, गाउँपालिका स्तरीय संयुक्त अनुगमणको व्यवस्था गर्ने, पालिकाभित्र सञ्चालित औषधी पसलहरुलाई कोभिड–१९ रोकथाम नियन्त्रण तथा व्यवस्थापनमा परिचालन गर्ने निर्णय समेत भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर शाहीले जानकारी दिए ।

सर्वदलीय/सर्वपक्षीय बैठकका सहभागीले दोस्रो लहरको कोरोना महामारी रोकथाम र नियन्त्रणका लागि सबै एकताबद्ध भएर लाग्नु पर्ने सुझाव दिएका थिए ।

बैठकमा जनप्रतिनिधि, कर्मचारी, विभिन्न राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधि, रेडक्रसका प्रतिनिधि, पत्रकारलगायतको उपस्थिति रहेको थियो ।

  • २५ बैशाख २०७८, शनिबार प्रकाशित

  • Nabintech