शाहको सम्झनामा सुनितालाई सहयोग

पुण्यतिथीमा सामाजिक कार्य निरन्तर

असल शासन प्रतिनिधि

नेपालगन्ज / बासकी पूर्ब केन्द्रीय सदस्य रुक्मिणी शाहको १३ औं बार्षिक पूण्यतिथीमा बासले पूर्ण अपांगता भएकी एक किशोरीलाई सहयोग गरेको छ ।

बासद्वारा नेपालगञ्जमा बैशाख २७ गते सम्पन्न बार्षिक पूण्यतिथी कार्यक्रममा पूर्ण अपाँगता भएकी सुनिता बुढालाई नगद पाँच हजार सहयोग गरिएको हो । शाहको सम्झनामा बासले स्थापना गरेको रुक्मिणी स्मृति अक्षय कोषबाट उक्त सहयोग प्रदान गरिएको हो ।

पूर्ब केन्द्रीय सदस्य रुक्मिणी शाह । (फाईल तस्विर)

कार्यक्रममा सुनिता बुढाको संरक्षण गरिरहेकी नेपालगन्ज– १८ निवासी समाजसेवी बसन्ती शर्मालाई सहयोग रकम पाँच हजारको चेक हस्तान्तरण गरिएको थियो । शर्मालाई बासका अध्यक्ष रमेश सिटौला, र कार्यकारी निर्देशक नमस्कार शाहले संयुक्त रुपमा चेक हस्तान्तरण गरेका थिए । यसैगरी बार्षिक पूण्यतिथी कार्यक्रममा नेपालगन्ज स्थित निल सागर सेवाश्रमलाई ५० किलो नुन सहयोग प्रदान गरिएको थियो । सहयोग निल सागर सेवाश्रमका प्रतिनिधि दिवाकर खत्रीले ग्रहण गरेका थिए ।

पूर्ब केन्द्रीय सदस्य रुक्मिणी शाह । (फाईल तस्विर)

बुढाको परिवारलाई खाद्यान्न तथा लत्ताकपडामा सहयोग पुगोस् भन्ने उद्धेश्यले सहयोग गरिएको हो । कर्णाली प्रदेशको डोल्पा घर भई हाल बर्दियाको गुलरिया बस्दै आएकी १८ बर्षिया सुनिता बुढा पूर्ण अपांगता भएका व्यक्ति हुन् । आमा र दाई सँग बसिरहेकी उनको आर्थिक अवस्था निकै कमजोर भएका कारण उनको रेखदेख सहित सम्पूर्ण खर्च बसन्ती शर्माले ब्यहोर्दै आएकी छिन् ।

पूण्यतिथी कार्यक्रमको झलक । 

अर्काको सहायता बिना केही पनि गर्न नसक्ने उनको अवस्था देखेर सहयोग गर्दै आएको बताउने शर्माले कार्यक्रममा बासबाट पाएको सहयोगले उनको रेखदेखमा मद्धत पुग्ने बताईन् । उनले सबैको सहयोग पाएमा उनीहरुका लागि गुलरियामा घर बनाउने अभियान सञ्चालन गर्ने उनले जानकारी दिईन् । बासका कार्यकारी निर्देशक तथा पूर्ब केन्द्रीय सदस्य रुक्मिणी शाहका दाजु नमस्कार शाहले सञ्चालन गरेको कार्यक्रममा शाहको सम्झनामा एक मिनेट मौनधारण गर्नुका साथै शाहको तस्विरमा अविर र पुष्प अर्पण गरिएको थियो ।

निलसागर सेवाश्रमलाई सहयोग हस्तान्तरण गर्दै ।

बासका अध्यक्ष रमेश सिटौलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बासका निवर्तमान अध्यक्ष मन भण्डारी, महासचिब शिव कुमार बर्मा, केन्द्रीय सदस्य खेम बिष्ट, निर्देशक हेमराज भट्ट, कार्यक्रम संयोजक रबिन्द्र बोहरा लगायतको उपस्थिती रहेको थियो ।

स्मरण रहोस् २०६५ बैशाख २७ गते खासकाँरकाँदौमा बास पूर्ब केन्द्रिय सदस्य रुक्मिणी शाहका पति लगाएतले उनको दिउसै हत्या गरेका थिए । पूनरावेदन अदालतले अभियुक्तलाई सर्वश्व सहित जेल सजायको फैसला गरिसकेको छ ।

पुण्यतिथीमा सामाजिक कार्य :-
शाहको पूण्य तिथीमा बिभिन्न सामाजिक कार्यहरु बासले गर्दै आएको छ । २०६६ देखि हाल सम्म बिभिन्न कार्यहरु गर्दै आएको हो । पहिलो, दोश्रो र तेस्रो बार्षिक पूण्य तिथीमा कार्यक्रम गरि शाहको व्यक्तित्व बारे चर्चा गरि सम्झना गरेको बासले चौथो पूण्य तिथीमा २०६९ बैशाख २७ गते नेपालगन्ज स्थित भेरी बृद्धाश्रममा रहेका बृद्ध बृद्धाहरुलाई फलफुल वितरण गरेको थियो भने पाँचौं बार्षिक पूण्यतिथीमा २०७० बैशाख २७ गते शाहको स्मृतीमा रुक्मिणि स्मृति अक्षय कोष स्थापना गरिएको थियो ।

त्यसैगरी २०७१ बैशाख २७ गते शाहको छैटौं पूण्यतिथीमा बासले भेरी बृद्धाश्रम नेपालगञ्जमा फलफुल बितरण गरेको थियो । २०७२ बैशाख २७ गते सम्पन्न सातौं पूण्यतिथीमा बासले बागेश्वरी मन्दिरमा रहेका अशक्त, अपाँगता भएका व्यक्ति तथा जेष्ठ नागरिकहरुलाई फलफुल बितरण गरेको थियो भने २०७३ बैशाख २७ गते सम्पन्न आठौं बार्षिक पूण्य तिथीमा बासले साविकको मोतिपुर गाविस वडानम्बर ६ मटेरिया बर्दिया स्थायी घर भई हाल नेपालगञ्ज बस्दै आएकि घरेलु हिँसा पीडित सीतारानी चौधरीकी छोरी १६ बर्षिया छोरी सरस्वती चौधरीलाई स्टेशनरी सहयोग हस्तान्तरण गर्नुका साथै कक्षा ९ र १० पढ्दा लाग्ने सबै शुल्क बासद्धारा सहयोग गरिएको थियो ।

२०७४ बैशाख २७ मा सम्पन्न नवौं बार्षिक पूण्यतिथीमा बासले निल सागर बृद्धाश्रम नेपालगञ्जमा आश्रित जेष्ठ नागरिकहरुलाई दैनिक उपभोग्य खाद्यान्न सामाग्रीहरु हस्तान्तरण गरेको थियो । त्यसैगरी २०७५ बैशाख २७ गते सम्पन्न शाहको १० औं बार्षिक पूण्यतिथीमा बासले बाँके सीतापुर माईती घर भई बर्दिया ठाकुरद्धारा घर भएकी ब्रेन ट्युमर रोग पीडित लक्ष्मी शाहीलाई उपचार सहयोगार्थ ५ हजार सहयोग हस्तान्तरण गरेको थियो ।

त्यसैगरी २०७६ बैशाख २७ गते सम्पन्न शाहको ११ औं बार्षिक पूण्यतिथीमा बासले नेपालगञ्ज वडानम्वर १९ मा बिर बहादुर माझिको संरक्षकत्वमा रहि नेपालगञ्जको होप ईन्टरनेशनल एकेडेमि स्कुलमा अध्ययनरत १३ बर्षिय बिशाल बिष्टलाई अध्ययनका लागि रु. ५ हजार सहयोग प्रदान गरेको थियो भने नेपालगञ्ज वडानम्वर २० की घरेलु हिंसा पीडित महिला गंगा सुनारलाई व्यवसाय सञ्चालन गर्नका लागि रु. ५ हजार सहयोग गरेको थियो ।

यसैगरी गत बर्ष १२ औं बार्षिक पूण्यतिथीमा बासले जानकी गाउँपालिका वडानम्वर २ भैयापुर निवासी नेपाल प्रेस ईन्स्टिच्युट, क्षेत्रिय सञ्चार स्रोत केन्द्रमा कार्यरत स्वर्गिय गंगा फुयाँलकी धर्म पत्नीसंगिता फुयाँल र खजुरा गाउँपालिका वडानं ६ उढरापुर निवासी दृष्टिबिहिन जय बहादुर बिश्वकर्मालाई खाद्यान्न सामाग्रि सहयोग गरेको थियो । उनीहरुलाई २५ किलो चामल, साढे २ किलो दाल, २ किलो नुन, २ लिटर तेल लगाएत खाद्यान्न सामाग्री सहयोग गरिएको थियो ।

यसका अलावा शाहको सम्झनामा स्थापित अक्षयकोषबाट उनको जन्म दिनको सम्झनामा अशक्त, अपाँगता भएका व्यक्ति, आर्थिक अभाब भएका बालबालिका, जेष्ठ नागरिक, हिँसामा परेका महिलाहरुलाई ]सहयोग प्रदान गरिदै आएको छ । शाहको स्मृतिमा बासले बास रुक्मिणी स्मृति अक्षय कोष स्थापना गरि सञ्चालन गरेको छ । उक्त कोषबाट यस क्षेत्रका हिँसा पीडित महिला, बिपन्न बालबालिकाहरुलाई सहयोग गर्ने उद्धेश्य लिईएको छ ।

 

  • २७ बैशाख २०७८, सोमबार प्रकाशित

  • Nabintech