कोरोना रोकथाम र नियन्त्रणका लागि चिकित्सकसँग छलफल

असल शासन प्रतिनिधि

 

नेपालगन्ज/ कोभिड संक्रमण रोकथाम, नियन्त्रण र व्यवस्थापनका सम्बन्धमा नेपालगन्ज उप–महानगरपालिकाले चिकित्सकहरुसँग परामर्श गरेको छ ।

नगर प्रमुख डा. धवलशम्शेर राणा, उपप्रमुख उमा थापा मगर, प्रमुख प्रशासकीय अधिकृत हिरालाल रेग्मी, प्रबक्ता प्रमोद रिजाल, स्वास्थ्य शाखा प्रमुख रामवहादुर चन्दले कोभिड रोकथाम र नियन्त्रणका लागि तत्काल गर्नुपर्ने तयारीका विषयमा यहाँका बरिष्ठ चिकित्सकहरुसँग परामर्श गरेका हुन ।

छलफलका आधारमा नेपालगञ्ज उपमहानगरपालिकाले २३ वटै वडामा चिकित्सकहरुको सहयोग लिने भएको छ । वडाका स्वास्थ्य फोकलपर्सनहरुले वडाभित्रको विरामीको अवस्थाका बारेमा चिकित्सकसँग परामर्श गर्नेछन् ।

रामलिला मैदानस्थित आईसोलेसन सेन्टरमा अक्सिजनसँगै अन्य उपचार पनि प्रभावकारी रुपमा सञ्चालन गरिने भएको छ ।

छलफलमा सहभागी चिकित्सकहरुले वडाभित्रका स्वास्थ्य संस्थाहरुलाई थप प्रभावकारी बनाउन सुझाव दिनुभएको छ । त्यसका लागि शनिबार वडाका स्वास्थ्यकर्मी र चिकित्सकबीच समन्वयात्मक छलफल हुनेछ ।

छलफलमा भेरी अस्पतालका प्रमुख डा. प्रकाश थापा, पुर्ब प्रमुख डा. श्यामसुन्दर यादव, डा. राजन पाण्डे, डा. रोमा बोहरा, डा. पारश श्रेष्ठ, डा. राहुल थापा लगायतको सहभागिता रहेको थियो ।

नेपालगन्जका अस्पतालहरुमा अक्सिजनको आवश्यकता हुन नदिनका लागि गर्नुपर्ने तयारीका विषयमा पनि छलफल केन्द्रीत भएको थियो । अस्पतालका लागि कम्तिमा एउटा अक्सिजन लिक्विड ट्यांक आपतकालिन समयमा प्रयोग गर्नका लागि सिल गरेर राख्ने र त्यसका लागि जिल्ला प्रशासनमा अनुरोध गर्ने सहमति भएको छ ।

  • ३१ बैशाख २०७८, शुक्रबार प्रकाशित

  • Nabintech