पुर्व सहायक मन्त्री शाहीको निधन

असल शासन प्रतिनिधि

नेपालगन्ज / पुर्व सहायक मन्त्री डा. प्रेम बहादुर शाहीको निधन भएको छ । दैलेख जिल्लाको निर्वाचन क्षेत्र नं. २ बाट २०३९ सालमा राष्ट्रिय पञ्चायत सदस्यमा निर्वाचित भई सहायक मन्त्री बनेका शाहीको बिहिबार बेलुका काठमाडौंको नक्सालबाट शिक्षण अस्पताल लिने क्रममा निधन भएको हो ।

लामो समयदेखि दम रोगबाट पिडित डा. शाहीलाई बैशाख २९ गते त्रिभुवन शिक्षण अस्पतालमा जाँच गराउँदा कोरोना पोजेटिभ समेत देखिएको थियो । कोरोना पोजेटिभ देखिएपछि शाही होम आइशोलेशनमा बसेका थिए । २००१ साल बैशाख ५ गते दैलेख जिल्लाको दुल्लु नगरपालिका वडा नं. १० सातखम्बमा जन्मिएका डा. शाहीको ७७ वर्षको उमेरमा निधन भएको छ ।
डा. शाही त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधी उपाधी प्राप्त गर्ने दैलेखको पहिलो ब्यक्ति हुन् भने विद्यावारिधी उपाधी प्राप्त सांसदमा निर्वाचित पहिलो नेपाली समेत हुन् । उनले राजनीतिशास्त्र र व्यवस्थापनमा स्नातकोत्तर गर्नुका साथै वि.सं. २०३८ सालमा अर्थशास्त्रमा विद्यावारिधी उपाधी हाँसिल गरेका थिए ।

डा. शाहीले राजपरिषद्, राष्ट्रिय विकास परिषद्, त्रि.वि. सभा, आर्थिक तथा पर्यटन समिति, अन्तर्राष्ट्रिय युवा वर्ष राष्ट्रिय समिति नेपालको सदस्य लगायत थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ÷संगठनहरूमा रहेर काम गरेका थिए । नेपाल विद्याभूषण र भूकम्प उद्धार पदकबाट समेत विभूषित उनका थुप्रै एकल तथा संयुक्त पुस्तकहरू, प्राज्ञिक लेख रचनाहरू प्रकाशित छन् ।

  • ७ जेष्ठ २०७८, शुक्रबार प्रकाशित

  • Nabintech