आइशोलेशनमा भर्ना भएका कोरोना संक्रमित र कुरुवालाई निशुल्क खाना

असल शासन प्रतिनिधि

रुकुम पश्चिम / रुकुम पश्चिममा कोरोना संक्रमित भएर आइशोलेशनमा भर्ना भएका बिरामी र तिनका कुरुवालाई निशुल्क खानाको व्यबस्था गरिएको छ । जिल्ला अस्पताल सल्लेको आइशोलेशन अस्पतालमा भर्ना भएका कोरोना संक्रमित र उनका कुरुवाहरुलाई निशुल्क खानाको व्यबस्था गरिएको हो ।

नेपाल कम्युनिष्ट पार्टी (विप्लव समुह) ले यस अभियानको प्रबन्ध गरेको जिल्ला कार्यालय सदस्य नरेन्द्र बि.क.ले जनाए । अस्पताल नजिकैको स्थानीय सरस्वती माध्यमिक बिद्यालयमा मेस सञ्चालन गरेर त्यहिबाट खाना प्याक गरेर शनिबार देखि अस्पतालमा उपलब्ध गराउन थालिएको उहाँले बताए । संक्रमितहरुलाई खाना, नास्ताको उचित व्यवस्था नभएको, निशेधाज्ञाको कारण आफन्तजनले बाहिरबाट समयमै खानाको प्रबन्ध गर्न मुश्किल भएको देखेर आफुहरुले निशुल्क खानाको व्यबस्था गरेको बि.क.ले जनाए ।

बिहान र बेलुकाको खाना कोभिडको बिरामी हुँदा सम्म निशुल्क खुवाउने पार्टीको योजना रहेको जिल्ला सदस्य बि.क.ले उल्लेख गरे । अहिले अस्पतालको आईशालेशनमा ३५ जना बिरामी रहेका छन् । ‘घर नजिकैका केहिले आफै खानाको व्यवस्था गर्नुभएको छ भने बाँकि संक्रमित बिरामी र उहाँका आफन्तलाई हामीले खानाको व्यवस्था गरेका छौ’ बि.क.ले भने, महामारीको बेला राजनितिक दलहरुको तर्फबाट गर्न सकिने यो एउटा सेवा हो ।’ खाना स्वादिष्ट तथा पोषिलो भएको बिरामी र उहाँका कुरुवाहरुले बताएका छन् ।

बिरामीहरुलाई खाना खुवाउने व्यवस्थाको लागि केहि व्यापारीहरुले दाल, चामल तरकारीको लागि सहयोग गरिरहनु भएको छ भने स्थानीयहरुले भाँडाकुडा, पानी, बत्तिको व्यबस्था गरिदिएको स्वयम् सेवक समुहका सदस्य प्रेम प्रशान्त बोहराले बताए । उनका अनुसार बिहान १० बजे सम्म खाना तयारी गरेर अस्पतालमा प्याकिङ्ग गरेर पु¥याईन्छ भने दिउँसोको समयमा बिद्यालयको सरसफाईको काम पनि चलिरहेको छ ।

यसका साथै जिल्ला अस्पताल सल्लेमा नेपाल कम्युनिष्ट पार्टी (विप्लव समुह) का एक स्वयम् सेवक समुह परिचालन गरेको छ । जिल्ला कार्यालय नरेन्द्र बि.क.को नेतृत्वमा १५ जनाको समुह परिचालन भएको छ । उक्त स्वयम् सेवक समुह जनस्वास्थ्यका मापदण्डहरु पालना गरेर संक्रमितहरुको सेवामा तल्लिन रहेको अस्पतालले जनाएको छ ।

१५ जना मध्ये केहिले बिरामीहरुको लागि सिलिण्डरहरु पु¥याउने लगायत स्वास्थ्यकर्मीको टोलीलाई सहयोग गर्ने, केहिले शव व्यवस्थापनमा सहयोग गर्ने, केहिले बिरामीहरुको लागि खाना खुवाउने कार्यमा सहयोग गरिरहेको बताईएको छ ।

  • ९ जेष्ठ २०७८, आईतवार प्रकाशित

  • Nabintech