तीन दिनमै उठेको १९ लाख रकमबाट जिल्ला अस्पताललाई सहयोग

असल शासन प्रतिनिधि

रुकुम पश्चिम / रुकुममा जन्मेर देश तथा बिदेशमा रहेका व्यक्तिहरुद्धारा सञ्चालित कोरोना बिरुद्धको सहयोग अभियान अन्तर्गत संकलित रकमबाट बुधबार जिल्ला अस्पताल रुकुमलाई स्वास्थ्य सामाग्री तथा उपकरणहरु प्रदान गरिएको छ ।

स्वतस्फूर्त रुकुम सहयोग अभियान संचालन गरेर तीन दिनमै १८ लाख ९९ हजार जम्मा भएको र त्यसबाट संकलन भएको रकमबाट कोरोना भाइरसका बिरामीको उपचारमा प्रयोग हुने अति आवश्यक सामग्री तथा उपकरणहरु अस्पताललाई प्रदान गरिएको हो । रकम सहायता फाउन्डेशनको खातामा जम्मा गरिएको थियो । संकलित रकमबाट १८ लाख ४८ हजार ७ सय ३१ रुपैंयामा खरिद गरिएका अक्सिजन सिलिण्डर, जनेरेटर, अक्सिमिटर, एन्टीजेन किट लगायतका १० प्रकारका स्वास्थ्य सामग्रीहरु जिल्ला अस्पताललाई हस्तान्तरण गरिएको र अन्य रकम ढुवानी र अक्सिजन रिफिलमा खर्च भएको बताईएको छ ।

हस्तान्तरण भएका सामाग्री तथा उपकरणहरुमा ४० लिटरका १० वटा हाइ फ्लो अक्सिजन सिलिण्डर, ३ सय पिस एन्टीजेन किट, २० किलोवाटको जेनेरेटर, बिरामीको रगतमा अक्सिजन लेबल, ब्लड प्रेसर, ज्वरो लगायत जाँचमा प्रयोग हुने ५ प्यारामिटरका ७ वटा पेसेन्ट मनिटर र आईसोलेसन वार्डमा रहेका बिरामीको अक्सिजन लेबल जाँच्न प्रयोग हुने ठूलो वायर र मोनिटर सहितका ३ वटा ह्याण्ड हेल्ड पल्स अक्सिमिटर रहेका छन् । अभियानका एक अभियान्ता जनक खड्काका अनुसार हाई फ्लो अक्सिजन दिनुपर्ने बिरामीहरुका लागि प्रयोग हुने नन व्रेथिङ फेस मास्क ५० पिस, सामान्य अक्सिजन दिनुपर्ने विरामीका लागि प्रयोग हुने १२ वटा नजल ट्युविङ, १ सय पिस पिपिई सेट, १ हजार पिस के.एन. नाइन्टी फाइभ मास्क र १ सय एमएलका २ सय पिस सेनिटाइजर अस्पताललाई प्रदान गरिएको छ ।

अभियान्ता लक्ष्मण ओेलीले यस खालको परोपकारी अभियान निरन्तर जारी रहने बताए । उनले संकट, महामारी तथा विपद्को बेला जन्मभूमिको रक्षार्थ मिलेर लड्न जरुरी रहेको समेत उल्लेख गरे ।

आज जिल्ला समन्वय समितिका प्रमुख राजकुमार शर्माले स्वास्थ्य सेवा कार्यालयका निमित्त प्रमुख बिष्णुवहादुर बुढाथोकी, विशेषज्ञ डा. केहलविक्रम जिसी र डा. राजकुमार भुजेललाई उक्त सामाग्रीहरु हस्तान्तरण गरेका हुन् । सामान हस्तान्तरण गर्दै प्रमुख शर्माले जस्तो सुकै संकटका बेलामा पनि रुकुममेलीहरु जुट्न जानेको र त्यसको पछिल्लो उदाहरण यो सहयोग भएको बतताए ।

सहायता फाउण्डेसनले अगुवाई गरेको यस अभियानमा जनक खड्का, सिर्जना ओली, अर्जुन भण्डारी, लक्ष्मण ओली, लक्ष्मण केसी, नरविर खड्का लगायतले सक्रिय नेतृत्व गरेका थिए ।

  • १२ जेष्ठ २०७८, बुधबार प्रकाशित

  • Nabintech