संक्रमित भेट्न गाउँमा नगर प्रमुख, भत्ता दिनु अघि कोरानाविरुद्ध चेतना दिँदै वडा सरकार

असल शासन प्रतिनिधि

रुकुम पश्चिम/ रुकुम पश्चिमको चौरजहारी नगपालिकाका नगर प्रमुख र स्वास्थ्यकर्मीको टोलि कोरोना संक्रमितहरुको अवस्था बुझ्न घरदैलोमै पुग्ने गरेको छ । कोरोना संक्रमण भएर होम आइसोलेसनमा बसेका संक्रमितहरुको अवस्था बुझ्न र उनीहरुको मनोबल उच्च बनाउन नगरप्रमुख बिशाल शर्मा स्वास्थ्यकर्मीको टोली सहित घर घरमै पुग्न थाल्नु भएको हो ।

केहिदिन अघि नगरपालिकाको वडा नम्बर ७, ८, ९ र १० मा पुग्नुभएका नगर प्रमुख शर्मा सहितको टोलीले हिजो मंगलबार वडा नम्बर १३ र सहिद स्मृति नगर अस्पतालमा पुगेर त्यहाँ रहेका संक्रमितहरुसँग भेटघाट गरेको थियो । आज बुधबार नगरपालिकामै बसेर बिभिन्न वडामा रहेका संक्रमित र आईशोलेशनमा रहेका बिरामीहरुको अवस्था बुझ्ने काम भएको नगरप्रमुख बिशाल शर्माले बताउनुभयो ।

गाउँमा संक्रमितहरु स्वास्थ्य सुरक्षाका मापदण्ड बिनै बस्ने, गाउँमा निस्कने गरेको गुनासो प्राप्त भएपछि सम्झाई बुझाई गर्न पनि घरदैलो गर्नुपरेको नगरप्रमुख शर्माले उल्लेख गर्नुभयो । भेटघाटको क्रममा स्वास्थ्यकर्मीको टोलीले उनीहरुको अक्सिजन लेवल नाप्ने, आवश्यकता अनुसार औषधि दिने गरेको छ । स्वास्थ्यमा थप समस्या आएमा तत्काल सम्पर्क गर्न भनिएको नगरप्रमुख शर्माले बताउँनुभयो ।

अहिले नगरपालिका अन्तर्गतका वडा नम्बर ३, ७, ८, ९, १० र १३ मा कोरोना संक्रमतिहरु होम आईशोलेशनमा रहेका छन् । नगरपालिकाले चौरजहारी सेवा केन्द्र, खोलागाउँ र कोटजहारीमा ४५ बेडको आइशोलेशन अस्पताल सञ्चालन गरेको छ । उक्त अस्पतालमा अक्सिजन सिलिन्डर, कन्सन्टेटरको व्यवस्था गरिएको छ ।

भत्ता लिन आउनेलाई कोराना बिरुद्ध चेतना जनाउँदै वडा सरकार

कोरोना महामारीको बिच यहाँको एक वडाले भौतिक दुरी कायम गरेर सामाजिक सुरुक्षा भत्ता वितरण गरेको छ । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्वर ६ को कार्यालयले वडाका बिभिन्न टोलहरुमा पुगेर सामाजिक दुरी र स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गर्दै सामाजिक सुरक्षा भत्ता वितरण गरेको हो । भत्ता बुझ्न उपस्थित भएकाहरुलाई कोरोना भाईरस सम्बन्धि जनचेतना अभिबृद्धि गरिएको समेत वडा अध्यक्ष राजेन्द्र पुनले बताउनुभयो ।

भत्ता लिन आउनेहरुलाई कोरोना बिरुद्ध जानकारी दिने र सजक बनाउने मौका पनि भएको उहाँले उल्लेख गर्नुभयो । निषेधाज्ञाको कारण आम्दानीको बाटो रोकिएको र गाउँमा बृद्धबृद्धाहरुलाई अप्ठ्यारो पर्न सक्ने कुरालाई आँकलन गरेर घरमै पुगेर सामाजिक सुरक्षा भत्ता उपलब्ध गराईएको वडा अध्यक्ष पुनले जानकारी दिनुभयो । आफ्नो वडामा मात्र १३ लाख ५० हजार रकम सुरुषा भत्ता बाँडिने उहाँले जनाउनुभयो ।

 

  • १२ जेष्ठ २०७८, बुधबार प्रकाशित

  • Nabintech